Prakash Adhikari November 22, 2019

काठमाडौं, ५ मंसिर । नेपालमा उपलब्ध जलस्रोतबाट अत्याधुनिक प्रविधि उपयोग गरी अध्यधिक ऊर्जा उत्पादन गर्ने र सो ऊर्जालाई क्षेत्रीय आर्थिक समृद्धिमा समेत उपयोग गर्ने उद्देश्य राखेर राजधानीमा बिहिबारदेखि दुई दिवसीय ऊर्जा सम्मेलन सुरु भएको छ ।

सम्मेलनको पहिलो दिन उद्घाटन र विभिन्न प्राविधिक शत्रहरु सम्पन्न भएका छन् भने नेपालमा जलविद्युत उत्पादन,प्रशारण र ब्यापारका सम्बन्धमा विभिन्न १० वटा संझौता गर्ने तयारी पनि भएको छ ।

सम्मेलनको समुद्घान समारोहमा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले क्षेत्रीय विकासका लागि ऊर्जाको आवश्यकता रहेको बताउनु भयो ।उहाँले अहिले नेपालमा लगानीका लागि उपयुक्त र अनुकल समय हुनाको साथै लगानीको सुरक्षण गर्न सरकार प्रतिबद्ध वताउदै उहाँले क्षेत्रीय समृद्धि र आर्थिक विकासका लागि यस क्षेत्रका देशहरुले ऊर्जाको व्यापारलाई सहज बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

‘उत्पादित विद्युत नेपालमा मात्रै खपत नहुने भएकोले भारत र बंगालादेशको बजार खोजी गर्नु परेको हो,’ ‘नेपालमा जलविद्युतको अपार सम्भावना रहेको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, ‘बिजुली भारत, बंगलादेश पठाउन सके यस दिगो आर्थिक विकासको लक्ष्य पूरा हुन सक्छ ।’

मन्त्री पुनले आगामी दिनमा नेपालमा पर्याप्त विद्युत उत्पादन हुने भएकोले नेपाललाई बढी हुने विद्युत भारत र बंगलादेशलाई बेच्नको लागि यो सम्मेलन कोशेढुंगा सावित हुने बताउनुभयो ।

सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्रगुरागाईले विद्युतको बजार खोज्न यस सम्मेलनले सघाउ पुर्याउने बताउनुभयो । ‘विद्युत नभए विकास सम्भव छैन्’ उहाँले भन्नुभयो, ‘यहाँ उत्पादन गरेको विद्युत देशमा खपत गरेर क्षेत्रीय बजारसम्म पुर्याउनुपर्छ ।’

यस्तै, इपानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत विकास तथा बजार विस्तार गर्न त्रिपक्षीय समझदारी आवश्यक रहेको बताउनुभयो । ‘निजी क्षेत्रले पनि विद्युतको बजार खोज्ने प्रयास गरेको छ, यसमा सरकारको सहयोग आवश्यक देखिन्छ,’ उहाँले भन्नुभयो , ‘निजी क्षेत्र र सरकारी प्रयासबाट मात्रै यहाँको विद्युत क्षेत्रीय बजारसम्म पुर्याउन सकिन्छ ।’

सम्मेलनमा नेपालका लागि भारतीय मन्जिवसिंह पुरीले क्षेत्रीय विकासका लागि बिजुली आवश्यक रहेकोले यसका लागि नेपाल भारतको संयुक्त पहल आवश्यक रहेको बताउनुभयो ।

सम्मेलनमा बंगालादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्री नसरुल हमिद, भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्मा लगायतले नेपाल, भारत, बंगालादेश र भुटानबीच बिजुली आयात–निर्यातको सम्भावना रहेको बताउनुभयो ।

ऊर्जासम्मेलनमा भारत, बंगालादेश, भुटानका मन्त्रीसहित ७ सय स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता रहेको छ ।

सम्मेलनमा जलविद्युत लगानी ता विकास कम्पनी र एनएचपीसी इन्डिया तथा भारतीय इनर्जी एक्चेन्ज र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका बीच सम्झौता भएको छ ।

उक्त सम्मेलनमा नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय विद्युत व्यापार तथा आयोजना निर्माण विषयमा महत्वपूर्ण १० सम्झौता हुँदै छन् ।

सम्मेलनमा भारतबाट केन्द्रीय विद्यत प्राधिकरण, केन्द्रीय विद्युत नियमन आयोग, पिटिसी इन्डिया, एनएचपिसी इन्डिया, सतलज जलविद्युत निगम, जिएमआरलगायतका प्रतिनिधिको उपस्थिति रहेको छ ।

विदेशी सहभागीमध्ये ७५ प्रतिशत भारत र बंगलादेशबाट मात्रै छन् ।

बंगलादेशले सन् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट विद्युत लैजाने प्रतिबद्धता जनाएको छ । मन्त्री पुनले गत वर्ष भदौमा गरेको बंगलादेश भ्रमणमा त्यहाँका उच्च सरकारी अधिकारीले प्रतिबद्धता जनाएका थिए ।

भारतले २०३४ सम्ममा १५ हजार ६ सय मेगावाट विद्युत् लैजाने भएको छ । भारत र बंगलादेशसँग गरी करिब २५ हजार मेगावाट सम्झौता भइसकेको छ ।

गत महिनामात्र नेपाल–भारतबीच बिजुली आयात–निर्यातका लागि न्यु बुटवल गोरखपुर ४ सय केभी प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको छ । त्यसअघि ढल्केबर–मुजफ्फरपुर अन्तर्रा्ष्टिय प्रसारण लाइन निर्माण भइसकेको छ ।

सम्मेलनमा भारत, बंगलादेश, भुटान, चीन, नेदरल्यान्ड, नर्वे, दक्षिण कोरिया, क्यानडालगायत देशका लगानीकर्ता एवं प्रतिनिधिको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपालको विद्युत नियमन आयोगका साथै भारत, बंगलादेश तथा नर्वेका विद्युत नियमन आयोगका अधिकारीहरूको गोलमेच छलफल पनि हुने भएको छ ।

हालै गठन भएको नेपालको विद्युत नियमन आयोगका लागि यो छलफल निकै उपयोगी हुने छ ।

Share Now

Leave a comment.