Prakash Adhikari December 5, 2019

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुदको पाँचौ दिन अपरान्हसम्म नेपाले थप ३ स्वर्ण जितेर ३२ स्वर्ण आफ्नो खातामा जोडेको छ भने खेलमा १९ रजत र ३० कास्यसहित ८१ पदक हासिल गरेको छ ।

निमा घर्तीमगरले जितिन् स्वर्ण

बिहिबार बिहान भएको खेलमा उसुमा नेपालकी निमा घर्तीमगरले स्वर्ण जितेकी छन्।

लगनखेलस्थित आर्मीको कभर्डहलमा उसुको थाउलोअन्तर्गत महिला नान्दोमा निमाले स्वर्ण जितेकी हुन्। उनले कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन्। १६.३ अंक बटुलेकी बंगलादेशकी मोर्जिना अख्त्तरले रजत पदक पाइन्।

यसअघि सन् २०१६ मा भारतमा भएको १२औं सागमा पनि निमाले स्वर्ण नै जितेकी थिइन्। १३ औं सागमा निमाको यो दोस्रो स्वर्ण हो ।

नेपालले सागको यो संस्करणमा उसुबाट ४ वटा स्वर्ण पदक जितिसकेको छ। पहिलो दिन विशाल सिञ्जाली र सुष्मिता तामाङले स्वर्ण जितेका थिए। दोस्रो दिन दीपक हमालले स्वर्ण जिते। त्यसैगरि उसुकै ताइची छ्‍वानतर्फ मिना ग्लानले रजत पदक जितेकी छन्। श्रीलंकाकी गुनासेकाराले १८.६६ स्कोरसहित स्वर्ण पदक जित्दा मिनाले १८.४४ स्कोर बनाइन । यो स्पर्धामा बंगलादेशकी दिप्ती दासले १६.६५ स्कोरसहित कास्य पदक जितिन ।

साइक्लिङमा लक्ष्मीले थपिन अर्को स्वर्ण

नेपालका लागि साइक्लिङको क्रस कन्ट्री स्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण जित्न सफल भएकी छन्।

गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्। यही स्पर्धाबाट नेपालकै उषा खनालले रजत पदक जितेकी छन्। लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्डमा पूरा गर्दै स्वर्ण पक्का गरिन्। उषाले १ मिनेट ३५.५२ सेकेण्डमा दूरी तय गरेर रजत जितिन्। यो स्पर्धामा भारतकी प्रनिता प्रफुल सोमनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गर्दै रजत पदक जितिन्।

बुधबार डाउनहिल स्पर्धामा राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण पदम जितेका थिए ।

क्रस कन्ट्री पुरुषमा बुद्धिबहादुर तमाङले थपे स्वर्ण

बिहिबार नै साइक्लिङको क्रस कन्ट्री पुरुष इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ।

नेपालले साइक्लिङबाट नेपालले जितेको यो चौथो स्वर्ण पदक हो। नेपालका बुद्धिबहादुर तमाङले गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा बिहीबार दिउँसो भएको फाइनल प्रतिस्पर्धामा स्वर्ण पदक जितेका हुन्।

क्रस कन्ट्री अन्तर्गत ४ किलोमिटरको ४ ल्यापमा बुद्धिले एक घण्टा १९ मिनेट ०८ सेकेण्डको समयमा पूरा गरेर स्वर्ण जिते भने नेपालकै राजिव राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले यस इभेन्ट्समा कास्य पदक जितेका छन्। राजिवले १ घण्टा १९ मिनेट ४० सेकेण्ड र ओकेशले १ घण्टा २१ मिनेटको समय निकालेर पदक पक्का गरे।

बुद्धिले स्वर्ण जितेपछि नेपालले साग इतिहासको एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ। नेपालले १३ औँ सागमा ३२ वटा स्वर्ण पदक जितिकसकेको छ।

नेपालले सन् १९९८ मा भएको आठौं सागमा सर्वाधिक ३१ वटा स्वर्ण पदक जितेको थियो। नेपालले यो सागमा करिब ५० स्वर्णको लक्ष्य राखेको छ।

Share Now

Leave a comment.