Prakash Adhikari December 7, 2019

काठमाडौं, २१ मंसिर । दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत शनिवार बिहान सम्पन्न ४२ किलोमिटर म्याराथन दौडमा पुरुषतर्फ किरणसिंह बोगटीले नेपाललाई स्वर्ण दिलाएका छन् भने महिलातर्फ नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी छन् ।

शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा बोगटीले निर्धारित दूरी २ घण्टा २१ मिनेट १६ सकेन्डमा पूरा गर्दै देशका लागि स्वर्ण दिलाएका थिए ।

सो दूरी भारतका रस्पाल सिहंले २ घण्टा २१ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै रजत जिते। भारतकै श्री सिंहले कास्य जितेका छन्। उनले निर्धारित दूरी २ घण्टा २२ मिनेट ०६ सेकेन्डमा पूरा गरे।

नेपालका होमलाल श्रेष्ठ चौथो भए। उनले निर्धारित दूरी २ घण्टा २४ मिनेट ३० सेकेन्डमा पूरा गरे।

दौडमा नेपालका दुई, भारतका दुई गरी आठ प्रतिस्पर्धी थिए।

योसँगै नेपालले जारी सागमा स्वर्ण संख्या ४२ पुर्याएको छ। शुक्रबार नेपालले ५ स्वर्ण थपेको थियो।

१३ औं सागमा पनि नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको रेकर्ड तोडिएन ।

मानन्धरले १९८७ मा भारतमा भएको सागमा निर्धारित ४२ किलोमिटर दूरी २ घण्टा १५ मिनेट ३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान कायम गरेका थिए।

महिलामा पुष्पाले दिलाइन रजत

दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालकी पुष्पा भण्डारीले रजत जितेकी छिन्।

शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजत जितेकी हुन ।

श्रीलंकाकी हिरुणी विजेरत्नले स्वर्ण जितिन्। उनले निर्धारित दूरी २ घण्टा ४१ मिनेट २४ सकेन्डमा पूरा गरिन्। भारतकी ज्वति ज्ञावतले कास्य जितिन्। उनले निर्धारित दूरी २ घण्टा ५२ मिनेट ४४ सेकेन्डमा पूरा गरिन्।

सागमा इतिहासमा महिला म्याराथनको रेकर्ड भने तोडिएको छैन।


सो रेकर्ड भारतकी सत्यभमाको नाममा छ। उनले निर्धारित दूरी २ घण्टा ३८ मिनेट १० सेकेन्डमा पूरा गर्दै रेकर्ड कायम गरेकी थिइन्।

दौडमा नेपालका दुई, भारतका दुई गरी आठ प्रतिस्पर्धी थिए।

Share Now

Leave a comment.