काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहान सहरमा देखिएको प्राणघातक कोरोना भाइरसको प्रकोपले विश्वभर मृत्युको सन्त्रास फैलाएकोले सो शहरमा भएका नेपालीको उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारसमक्ष अनुरोध गर्नुभएको छ ।
शुक्रबार एक विज्ञप्ति निकाल्दै कांग्रेस सभापति देउवाले कोरोना भाइरसबाट कयौको मृत्यु भएको र हजारौं संक्रमित भएको उल्लेख गर्दै कोरोनाका कारण जीवन गुमाएका सवै चिनियाँ नागरिकको परिवार र चिन सरकारप्रति नेपाली काँग्रेसका तर्फवाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागी चिन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रसंशा पनि गर्नुभएको छ ।
कांग्रेस सभापति देउवाले अन्तराष्ट्रिय रुपमा संक्रमण फैलिन शुरु भएको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठनद्धारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पूर्ण सतर्कतासंगै नेपालले राख्नु पर्ने सतर्कता र सरकारले युद्दस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजग गराउनुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्न आग्रह गर्दै नागरिकलाई सुसूचित गर्ने साझा दायित्व निर्वाह गर्न नेपाली काँग्रेसका नेता कार्यकर्ता लगायत सबै राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई बिशेष आग्रह गर्नुभएको छ ।
उहाँले नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न समेत अपील गर्नुभएको छ ।
कांग्रेस सभापति देउवाले कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको उल्लेख गर्दै त्यहा रहेका करिब एकसय नेपाली बिद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउने प्रबन्ध यथाशीघ्र मिलाउन पनि सरकारलाई अनुरोध गर्नुभएको छ ।
कांग्रेस सभापतिले कोरोना भाइरसको संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्न पनि अनुरोध गर्नुभएको छ ।


















