लुम्बिनी(रुपन्देही), १५ फागुन । नेपालको राजनीतिमा वैकल्पिक विचार, कार्यशैली र राज्य सञ्चालनको परिकल्पना बोकेर उदाएको साझा पार्टीको राष्ट्रिय भेला आजदेखि शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा सुरु हुँदैछ ।
फागुन १७ गतेसम्म चल्ने भेलामा देशका सातै प्रदेश तथा विदेशस्थित सद्भाव समूहकासमेत गरी करीब पाँच सय अगुवा सदस्य सहभागी हुने कुरा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बताउनुभएको छ ।
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा पार्टीले जारी गरेको विज्ञप्तिमा “साझा पार्टी फरक धार, नयाँ उर्जा संगठन र विचार” नारा दिईएको राष्ट्रिय भेलाले पार्टी स्थापनायताको अनुभव, सिकाइ, उपलब्धिहरूलाई रक्षा गर्दै तिनको जगमा अझ अगाडि जाने र आगामी एक बर्षभित्र पार्टीलाई नयाँ राजनीतिक उचाइ दिने गरी रणनीतिक र सांगठनिक कार्ययोजना तय गर्ने बताइएको छ ।
भेलाको पहिलो दिन आज दिउँसो तीन बजेपछि उद्घाटन सत्र सुरू हुनेछ। आजै साँझ सात बजे केन्द्रीय समितिका सम्पूर्ण सदस्य र भेलाका सबै सहभागी सदस्यहरूले मायादेवी मन्दिरमा शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम छ ।
दोस्रो दिन शुक्रबार समूहगत प्रस्तुति र छलफल हुनेछ।
तेस्रो तथा अन्तिम दिन शनिवार समूहगत छलफलमा उठेका प्रश्नहरुको जवाफ केन्द्रीय नेतृत्वले दिनुका साथै साझा पार्टीको रणनीति र कार्ययोजना पारित गरी लुम्बिनी घोषणापत्र जारी गर्दै भेला समापन हुनेछ।