काठमाडौं, ७ चैत्र । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भारतमा फैलदै गएको कोरोनाको संक्रमणलाई दृष्टिगत गर्दै भारतको नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु चैत्र ९ ( २२ मार्च २०२०) गतेदेखि लागू हुनेगरी स्थगित गरेको छ।
डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचनाअनुसार ती गन्तव्यको नियमित उडानहरु हाल चैत्र १६ (मार्च २९,२०२०) गतेसम्मका लागि स्थगित गरिएको निगमले जानकारी दिएको छ।
निगमले आफ्नो उडान हुने यी क्षेत्रमा टिकट बुकिंग गरिसकेका सेवाग्राहीका लागि टिकटको पुनर्तालिकीकरण गर्न वा टिकटका लागि भुक्तानी गरेको रकम पुरै फिर्ता दिन सकिने दुई विकल्प उपलब्ध गराइएको जानकारी दिएको छ ।
दुईवटा ३२०-२०० सेरिजका एअरबसका न्यारोबडी र दुईवटा ३३०-२४३ सेरिजका एअरबसका बाइड बडीबाट नारिता, हंगकंग,क्वाललम्पुर, बैंकक,दोहा, दुबाई, नयाँदिल्ली, बैंगलोर र मुम्बईमा नियमित उडान गर्दै आएको नेपाल वायुसेवाले भारतको उडान स्थगन पछि बैंकक र हङकङ मा मात्र नियमित उडान गर्नेछ ।