Prakash Adhikari March 20, 2020

 

काठमाडौँ, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

उहाँले संसारभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमण रोकथाम लगायतका बिषयमा जानकारी दिन शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

कोरोना भाइरसको महामारी र त्यसबाट नेपाली जनतालाई जोगाउने उपायका बारेमा सरकारले गरेका तयारीलगायतका विषयमा प्रधानमन्त्री ओलीले देशबासीलाई जानकारी गराउने उद्देश्यले आजको संबोधन हुन लागेको उहाँको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले साँझ ६ बजे देशबासीका नाममा सम्बोधन गर्नुहुने जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीको संबोधन नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली बाह्य सम्पर्क कम हुनेगरी सरकारी निवास बालुवाटारबाटै काम गरिरहनुभएको छ। सरकार स्वयले २५ जनाभन्दा बढी भीडभाड हुने खालका कुनै पििन सार्वजनिक काम नगर्न निर्देशन जारी गरेकोले प्रधानमन्त्रीको संबोधनमा निजी क्षेत्रका सञ्चार माध्यमहरुलाई प्रत्यक्ष प्रशारणको अवसरबाट बञ्चित गरिएको छ ।

स्वयं क्वारैन्टाइनको अनुरोध हुन सक्ने

नोभल कोरोना भाइरस दक्षिणी छिमेकी भारतमा पनि ज्यामितीय रुपमा फैलिन थालेपछि नेपाल सरकार त्यसमा अरु गम्भीर भएको हो । कोरोनाको उद्गम भएको चीनको फैलावट र उत्कर्ष तथा बिरामलाई नजिकैबाट नियालीरहेको नेपालले इटाली,फ्रान्स,स्पेन,इरान,अमेरिका,कोरिया,जापान, बेलायतमा भएको यसको फैलावट र विनासबाट शिक्षा लिंदै कडा सतर्कता अपनाउने मार्ग लिदैछ ।

खुला सीमाना भएको र अत्यधिक नेपाली आउतजावत गर्ने भारतमा शुक्रबारसम्म कोरोनाबाट ५ जनाको ज्यान गइसकेको तथा संक्रमितको संख्या २ सय ६ पुगिसकेको छ।कोरोनाबाट देशका नागरिकलाई जोगाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार एक सम्बोधनमार्फत् देशमा आइतवार ‘जनता कर्फ्यू’ घोषणा गर्नुभएको छ । नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीले पनि भारतको सिको गर्दै आम नागरिकलाई अत्यावश्यक अवस्थामाबाहेक घरबाहिर ननिस्कन आग्रह गर्ने संभावना रहेको छ ।

आवश्यक सबै कदम चाल्न निर्देशन

कोरोनाको असर भारतमा पनि बाक्लो देखिन लागेपछि थप सावधानीका बारेमा सरसल्लाह गर्न प्रधानमन्त्रीसंग परामर्श गर्न जानुभएका कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेललाई प्रधानमन्त्रीले थप तयारीका लागि निर्देशन दिनुभएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेललाई आवश्यक सबै कदम चाल्न निर्देशन दिनुभएको बताइन्छ ।

यस पहिले नै सरकारले अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाकाहरु बन्द गर्ने, भीडभाड हुने सार्वजनिक स्थानहरु चलचित्र घर, सांस्कृतिक केन्द्र, पौडी पोखरी, व्यायमशाला, खेलका रंगशाला र मैदानहरु बन्द गरिसकेको छ। धार्मिकस्थलमा पनि भीडभाड नगर्न निर्देशन दिइएको छ । भोज भतेर र पार्टीमा पनि रोक लगाइएको छ । २५ जनाभन्दा बढी भीड हुने गरी काम नगर्न निर्देशन जारी गरिएको छ ।

कोरोनाको संभावित संक्रमणलाई ध्यानमा राख्दै एसईईसहित विद्यालय र विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित भएका छन्। विद्यालय र विश्‍वविद्यालयका सबै पठनपाठन स्थगित भएको छ । लोकसेवा आयोगका परीक्षा स्थगित भएको छ ।

सार्वजनिक भीडभाड हुने स्थल र कार्यस्थलमा रोक लगाइसकेको अवस्थामा अब सरकारले नागरिकलाई भारतमा झै आफूले आफैलाई घरभित्रै रोक्ने तयारीका लागि जनतालाई अपील गर्न थालेको बताइएको छ ।

अहिलेसम्म कोरोना नफैलिएकाले यसलाई फैलिन नदिने सबै उपाय र शक्ति लगाउने निर्देशन प्रधानमन्त्रीबाट पाएपछि उपप्रधानमन्त्री तथा उच्चस्तरीय कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय समितिका अध्यक्ष ईश्वर पोखरेलले समितिको बैठक पनि आजै डाक्नुभएको छ । यसले विश्वका कोरोना प्रभावित मुलुकहरुले अपनाएका उपायहरुको अबलम्बन गर्ने कडा निर्णय गर्न सक्ने बताइएको छ।

Share Now

Leave a comment.