काठमाडौं, ५ माघ । उपत्यका बाहिरका हलहरुमा बिहीवारदेखि प्रदर्शनमा आएका दुई नेपाली चलचित्र ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ले शुक्रवारबाट राजधानीका हलहरुमा पनि प्रदर्शन सुरु गरेका छन् ।
रिलिज पूर्व गरिएको विशेष शो मा दुवै चलचित्रलाई दर्शकहरुले मन पराएका थिए ।
‘लालपुर्जा’ले जग्गाका लागि हुने दुई दाजु(भाईको कथा बोल्छ भने ‘पिंजडा ब्याक अगेन’ फेमिली ड्रामा फिल्म हो ।
‘लालपुर्जा’मा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरुको अभिनय छ । चर्चित लेखक कुमार नगरकोटी र नायिका सृष्टि श्रेष्ठ पनि चलचित्रमा अतिथिको रुपमा देखापर्दछन् ।
निगम श्रेष्ठ निर्देशित यो फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् । पटकथा भने सुजित बिडारीले तयार पारेका हुन् । नेगेटिभ बुद्धको व्यानरमा निर्मित फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, बिक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी छ ।
यस्तै, ‘पिंजडा ब्याक अगेन’मा निखिल र सारा सिर्पाली मुख्य भूमिकामा छन् । यो चलचित्रको निर्देशक हिमाल केसी हुन् । पिंजडा ब्याक अगेन ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।