Prakash Adhikari April 8, 2020

काठमाडौं, २७ चैत्र । सरकारले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचान गर्ने प्रकिया पूरा भएको र उनीहरूमध्ये कसैमा पनि कोभिड१९ नदेखिएको जनाएको छ।

।कन्टयाक्ट ट्रेसिङ गर्ने जिम्मा पाएको इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेले देशभित्र प्रवेश गरेदेखि घर र समुदाय पुगेको अवस्थासम्म पीडितको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई पहीचान गरी उनीहरूको नमूना सङ्कलन गरिएको बताउनुभएको छ ।

उहाँले सङ्क्रमितसँगै यात्रा गरेर नेपाल आएका दुई जनाको सम्पर्क पत्ता नलागेकाले उनीहरूको परीक्षण नगरिएको जानकारी दिनुभयो । तर सङ्क्रमितसँग सम्पर्क भएको भनिएका व्यक्तिहरूको पहिचान गर्ने काम सम्पन्न भएको र कुनै जोखिम नरहेको उहाँले बताउनुभयो।

नेपालमा अहिलेसम्म देखिएका नौ वटा घटनामा एकजना बिरामी निको भएका छन् भने सात जनाले विदेशबाट सङ्क्रमण भित्र्याएको र एउटा घटनामा विदेशबाट आएका व्यक्तिका आफन्तमा सङ्क्रमण सरेको पाइएको थियो।

कन्ट्याक्ट ट्रेसिङ सम्पन्न

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचानको काम सम्पन्न गरिएको बताउनु भयो ।

उहाँका अनुसार अहिले नेपालमा ८ जना कोरोना संक्रमित बिरामी छन्, जसमध्ये धनगढीमा ४ जना , बाग्लुङमा २ जना र टेकु अस्पतालमा २ जना रहेका छन्ू

डा.देवकोटाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङका सबै काम सम्पन्न भएको पनि दाबी गर्नुभएको छ ।

कोरोनाभाइरस
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सङ्क्रमितहरूसँग आन्तरिक तथा वाह्य उडानमा यात्रा गरेका व्यक्तिहरू पहिचान गरिएको जनाएका छन्।
उक्त काम सम्पन्न भएको भन्दै इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

त्यसका महानिर्देशक डा. वासुदेव पाण्डेले भन्नुभयो, ‘हामीले पहिलोदेखि आठौँ सङ्क्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान खोज्ने काम विस्तृत रूपमा गरेका छौँ।र, डब्ल्यूएचको मापदण्ड अनुसार उनीहरूसँग नजिक पुगेका व्यक्तिहरूको परीक्षण गर्दा पनि कसैमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको पाइएन।’

उहाँले भारतको मुम्बईबाट आएका भनिएका एक सङ्क्रमितसँग सम्पर्कमा आएका १४ जना, भारतकै उत्तराखण्डबाट आएका भनिएका अर्कासँग क्वारन्टाइनमा सम्पर्कमा आएका भनिएका १२ जना र कोभिड(१९ का बिरामीका कारण नेपालभित्रै सङ्क्रमित भएकी एक महिलासँग सम्पर्कमा आएका अरू ७ जनाको परीक्षण गरिएको बताउनुभयो।

डा. पाण्डेले थप्नुभयो, ‘भारतबाट रेलमा आएकाका हकमा उनीहरूले यात्रा गर्दा कहाँ के भयो त्यो भन्न सक्ने वा केही गर्न सक्ने अवस्थामा हामी छैनौँ। तर नेपालमा होटलदेखि, क्वारन्टाइनस्थल र घरसम्मको पहिचान गरी आवश्यक मापदण्ड अनुसारको परीक्षण हामीले गरेका छौँ।’

यसअघि अधिकारीहरूले फ्रान्सबाट दोहाहुँदै आएकी १९ वर्षीया नेपाली विद्यार्थीसँग कतार एअरवेजमार्फत् चैत ४ गते काठमाण्डू आएका १ सय ५८ मध्ये कतिपय यात्रु सम्पर्कमा नआएको बताउने गरेका थिए।

नेपाल प्रहरी
प्रहरीको केन्द्रिय हेल्थ डेस्कले सङ्क्रमितसँग नजिक पुगेका व्यक्ति पहिचान गर्न कार्यविधि कार्यान्वयनमा ल्याएको छ

इपिडिमिओलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका महानिर्देशक पाण्डेले विमानमार्फत् आएका दुईजनाको कन्टयाक्ट ट्रेसिङ हुन नसकेको आफ्नो जानकारीमा रहेको बताउनुभयो।

डा. पाण्डेले उक्त सङ्क्रमण देखिएको अवधि दुई हप्ताभन्दा बढी भइसकेकाले कुनै जोखिम नरहेको आकलन आफूले गरेको बताउनुभयो।

नेपाल प्रहरीले सङ्क्रमित यात्रुहरू सवार तीनवटा अन्तर्राष्ट्रिय उडान र दुई आन्तरिक उडानमा रहेका मानिसहरूको पहिचानमा सरकारलाई मद्दत गरेको थियो।

प्रहरीको तथ्याङ्क भने इपिडिमिओलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाको भन्दा फरक पाइएको छ।

कोभिड १९ सङ्क्रमण यात्रु सवार भनिएका कतार एअरवेजको विमानमा यात्रा गरेका तीनजना पहिचान हुन बाँकी रहेको, एअर अरेबीयाको उडानका दुईजना र विस्तरा एअरको १९ जनाको पहिचान हुन नसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए।

जोशीका अनुसार सङ्क्रमित यात्रुसँगै दुईवटा आन्तरिक उडानमा सवार सवा सय यात्रुभन्दा बढी मध्ये २२ जनासँग सम्पर्क हुन बाँकी छ।

कार्यविधिको प्रावधान
नेपाल प्रहरीले तयार पारेको कार्यविधिमा कोभिड १९ प्रमाणित भएका घटनाका आधारमा उच्च र कम जोखिमका सम्पर्क भनेर वर्गीकरण गरिएको छ।

त्यस अनुसार सङ्क्रमित व्यक्तिसँग १५ मिनेटभन्दा बढी समय र छ फिटको दूरीको दायरामा बस्ने व्यक्तिलाई बढी जोखिमको भनिएको छ।

त्यसबाहेक शारीरिक सम्पर्क, सङ्क्रामक पीपीई प्रयोग नगरी स्वाबसँगको सम्पर्कमा पुगेको, बन्द वातावरणमा १५ मिनेटभन्दा बढी विताएको र विमान यात्राको हकमा दुई सीट वरिपरिको खण्डमा बसेको तर सङ्क्रमित यात्रुले शौचालयको प्रयोग गरेको अनि अत्यधिक चहलपहल गरेको भए सबैलाई उच्च जोखिममा राख्नुपर्ने उल्लेख गरिएको छ।

श्वासप्रश्वाससम्बन्धी रोग अनि ज्वरो वा खोकीसहितका लक्षण देखिएका वा १४ दिन पहिले कोरोनाभाइरसको सङ्क्रमण फैलिएको क्षेत्रबाट आएको वा त्यस देशका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेको व्यक्तिलाई भने शङ्कास्पदको बिरामी भनिएको छ।

सरकारले सङ्क्रमण वा सङ्क्रमणको स्रोतसँग पहिलो सम्पर्क कायम भएपछि १४ दिनसम्म निगरानी गर्ने भन्दै त्यसबेलासम्म कुनै लक्षण नदेखिएमा पनि घरमै सात दिन बस्नुपर्ने बताएको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.