Prakash Adhikari April 9, 2020

 

काठमाडौं २७ चैत्र। नेपाली कांग्रेसका युवा नेताहरुले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन माग गर्नुभएको छ ।

कांग्रेसका युवा नेता डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले विज्ञप्ति जारी गरी सो माग गर्नुभएको हो ।

कांग्रेसका युवा नेताहरुले कोरोनाभाइरसको महामारीको विश्वव्यापी संकटबाट नेपाल र नेपालीलाई जोगाउन सांसद विकास कोषको रकम उपयोगी हुने ठहर गर्दै सो माग गर्नुभएको हो ।

यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम परिचालन गरी आयोजना सञ्चालन गर्ने समयमा कोरानाको महामारीको त्रासले सम्पूर्ण नेपालका आर्थिक तथा सामाजिक विकासका कार्यक्रम स्थगित भएकोले कांग्रेस नेताहरुको मागलाई जायज मानिएको छ । जेठ १५ गते नयाँ बजेट आउने भएकोले यो आर्थिक बर्ष सांसद विकास कोषमा विनियोजन भएको रकम खर्च हुने संभावना लगभग शून्य नै छ ।

संघीय सरकारले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत ६ करोड रुपैयाँ दिने गरको छ भने प्रदेशहरुमा पनि सा‌ंसदहरुले खर्च गर्न पाउने गरी निर्वाचन क्षेत्रमा रकम दिने गरिएको छ ।

भारतमा त्यहाँको संघीय सरकारले सांसदहरुको स्थानीय क्षेत्र विकास योजना कोष दुई बर्ष निलम्बन गर्ने अध्यादेश पारित गरेको छ । यसबाट बच्ने रकम कोरोना भाइरसको रोकथाम,नियन्त्रण र कोरोना संक्रमित बिरामीको उपचारमा खर्च गरिने बताइएको छ । संघीय मन्त्री प्रकाश जावेदकरले यस कदमबाट ७९ अर्ब भारतीय रुपैया सरकारको केन्द्रीय कोषमा दाखिला हुने र यसबाट सरकारी अस्पतालमा उपकरण र परीक्षण सामग्री खरिद गरिनुका साथै बिरामीहरुको परीक्षण बढाएर उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएके छ ।

नेपाली कांग्रेसका युवा नेताहरुले कोरोना भाइरसको संक्रमणमा परेका व्यीक्तको पहिचानका लागि आवश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पीपीई लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न पनि माग गर्नुभएको छ ।

कांग्रेस नेताहरुले भारतसहित विदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउन दिने ब्यवस्था मिलाउन र ‘सीमामा आइपुगेका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई नेपाल प्रवेश गराइ क्वारेन्टाइनमा राखेर कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्र आफ्नो घरपरिवारमा जानदिने व्यवस्था गर्न पनि माग गर्नुभएको छ।

कांग्रेस नेताहरुले अत्यावश्यक सेवा अन्तरगत कोरोना संक्रमणको त्रासका बीचमा देश र जनताको सुरुक्षामा अहोरात्र खटिने सुरक्षाकर्मीको तलबभत्ता नकटाउन पनि सरकारसंग आग्रह गर्नुभएको छ ।

Share Now

Leave a comment.