Prakash Adhikari May 6, 2020

काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसले पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतको संयोजकत्वमा ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा बुधबार जारी गरिएको विज्ञप्तिमा नेपाली कांग्रेसको बैशाख १७ गते सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असर बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न विभिन्न समिति गठन गर्ने निर्णय अनुरुप सभापति शेरबहादुर देउवाले ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गर्नु भएको उल्लेख गरिएको छ ।

सो समितिमा नेपाली कांग्रेस सत्तामा रहदा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहनु भएका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसक्नु भएका व्यक्तित्वहरु रहनुभएको छ ।

डा. रामशरण महतको संयोजकत्वमा रहेको सो समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, पृथ्वीराज लिगल,डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोख्रेल ,डा. गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले रहनुभएको छ ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोणसहितको सुझाव दिनेछ ।

समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने बताइएको छ ।

Share Now

Leave a comment.