Prakash Adhikari May 12, 2020

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ३० बैशाख । सुगौली सन्धीले निर्धारण गरेको सीमा अनुसार नेपालको भूभागमा पर्ने लिपुलेकसम्म भारतले नेपालको सहमति बिना एकतर्फी बाटो बनाएको बिषयसहितका सीमा विवाद राजनीतिक तहबाट समाधान गर्न गैर आवासीय नेपाली संघले आग्रह गरेको छ ।

गत शुक्रबार सो क्षेत्रमा बनेको बाटोको भारतीय रक्षा मन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि आफ्नो फेसबुकमा यससम्बन्धी प्रतिक्रिया दिंदै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले भन्नुभएको छ, यस घटनाले हामीलाई दुःखी तुल्याएको छ । यसमा सरकारले उच्च राजनीतिक तहबाटै समाधानको प्रयास गरोस् ।

उहाँले महाकाली नदीपूर्वको भाग नेपालको हुने सुगौली सन्धि सन्१८१६ को प्रावधानअनुसार नेपालको पश्चिमोत्तर सिमाना लिम्पियाधुरा रहेको तथ्य निर्विवाद हुँदाहुँदै भारतले नेपालको करिब ४०० वर्गकिलोमिटर क्षेत्र अतिक्रमित हुने गरी त्यो क्षेत्र आफ्नो नक्सामा समावेश गरेको, नेपाल सरकारले बारम्बार संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका समाचार आइरहँदा पनि भारतले त्यसमा रुचि नदेखाएको पनि उल्लेख गर्नुभएको छ ।

https://www.facebook.com/kumar.panta.3/posts/10218750147643207

यसैबिच एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठले नेपालको सीमा मिचिएको विषयमा अन्तर्राष्ट्रिय अभियान चलाउने जानकारी दिनुभएको छ ।

उहाँका अनुसार एनआरएनले आफ्ना राष्ट्रिय समन्वय समितिमार्फत हरेक देशमा रहेका भारतीय दूतावासमा ज्ञापन पत्र बुझाउने छ ।

नेपाली भूमि मिचिएको बिरोधमा एनआरएनले संयुक्त राष्ट्र संघ, सार्क सचिवालय र अन्य अन्तर्राष्ट्रिय निकायमा पनि विराधपत्र बुझाउने बताएको छ ।

Share Now

Leave a comment.