काठमाडौं, १ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको सङख्या २ सय ४५ भएको जनाएको छ।
बिहीवार बिहान पहिलो विज्ञप्तिमा थप दुई जना र दोस्रो विज्ञप्तिमा थप पाँच जनामा कोभिड १९ देखिएको उल्लेख थियो।
अद्यावधिक विवरणअनुसार कोभिड १९ पुष्टि भएकाहरूको जम्मा सङ्ख्या २ सय ४५ नै रहेको छ, सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहिबार बिहान १०१५ बजे प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।
मन्त्रालयले केही पहिले २ सय ५० पुगेको विज्ञप्ति जारी गरेको थियो तर पहिले नै पुष्टि भएका ५ जनाको विवरण दोहोरिन गएकोले त्यसो भएको पछिल्लो विज्ञप्तिमा उल्लेख छ ।
बिहिबार बिहान पुष्टि भएका सङ्क्रमित काठमाडौं चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी छ वर्षीया बालिका हुन्। मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयले थप २६ जनामा सङक्रमण भएको विवरण सार्वजनिक गरेको थियो । बुधबार रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मंगलबार भने नेपालमा एकैदिन धेरै कोरोना संक्रमित थपिएका थिए । त्यस दिन ८३ जना कोरोनाका विरामी थपिएका थिए ।