Prakash Adhikari July 2, 2020

काठमाडौं, १८ आषाढ । पार्टीभित्र आन्तरिक सन्तुलन मिलाउन नसकेर एक्लिदै जानुभएका प्रधानमन्त्री के.पी.शर्मा ओलीले आफू र सरकारमाथि संघीय संसदका बैठक र संसदीय समितिहरुका माध्यमबाट हुने विरोधलाई रोक्न बिहिबार मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुभएको घट्नालाई प्रतिपक्षी दल नेपाली कांंग्रेसले गम्भीरतापूर्वक लिएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बिहिबार अपरान्ह जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ ।

उहाँले यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग कुनै परामर्श पनि नगरिएको र पूर्व सूचना पनि नदिइएको बताउनुभएको छ।

नेपाली कांग्रेसले भनेको छ, सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ ।

कांग्रेसले भनेको छ, विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो । तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ ।

कांग्रेसले जनताको जीवन प्रधान कि सत्ताको राजनीति ? भन्ने गम्भीर प्रश्न प्रधानमन्त्री ओलीसमक्ष राख्दै संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गरेको छ ।

Share Now

Leave a comment.