Prakash Adhikari January 24, 2018

काठमाडौं । सरकारले अब ६५ वर्षको उमेरमै वृद्धभत्ता दिइने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले ६५ वर्षको उमेरमै वृद्धभत्ता दिने निर्णय गरेको हो । यसअघि वृद्धभत्ता पाउन ७० वर्ष पुगेको हुनु पर्ने व्यवस्था थियो ।

२०५१ सालमा थालिएको बृद्धभत्ता वितरणको परम्परालाई हालसम्म सबैसरकारले निरन्तरता दिँदै आएका छन् । एकल महिला, दलित र कर्णालीका बासिन्दाका हकमा भने ६० बर्षमा वृद्ध भत्ता पाउने निर्णय भइसकेको थियो।

बैठक पछि सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भूकम्प पीडित र बाढी पीडितहरुलाई अहिले दिइएको राहतमा रु १ लाख रुपैँया थप गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।

भूकम्प,पीडितको किस्ताबारेको मिति समेत थप गर्ने निर्णय सरकारले गरेको छ । म्याद थपको निर्णय बारे पुननिर्माण प्राधिकरणलाई निर्देशन दिने सरकारको निर्णयमा उल्लेख छ। यसअघि भूकम्प पीडितलाई ३ लाख दिने निर्णय भइसकेको छ । पीडितहरुले यो सहित अब ४ लाख पाउने छन् ।

सरकारले निजी व्यवसाय वा फर्म दर्ता गर्दा महिला, दलित र विपन्न वर्गलाई दर्ता शुल्कमा सहुलियत दिने भएको छ । वुधबार बसेको मन्त्रिपरिषद बैठकमा वाणिज्य मन्त्रालयले राखेको प्रस्ताव स्वीकृत भएसँगै महिला, दलित र विपन्न वर्गले व्यवसाय वा फर्म दर्ता शुल्कमा सहुलियत पाउने भएका हुन् ।

बैठकपछि वाणिज्यमज्त्री मीनबहादुर विश्वकर्मा ‘महिला, दलित, विपन्न वर्ग (विपन्न वर्गको परिचयपत्र भएको व्यक्ति(ले व्यवसाय दर्ता गर्दा १ करोडसम्म पुँजी भएको फर्मलाई शून्य दस्तुर र त्यो भन्दा माथि पुँजी भएको कम्पनी दर्ता वा फर्म दर्ता गर्न चाहेमा ५० प्रतिशत दस्तुर छुट दिने निर्णय गरिएको बताए ।

नेपाल सरकारले कम्पनी ऐन, २०६३ को देहायका दफाहरुको प्रयोजनको लागि निजी कम्पनी दर्ता गर्न विभिन्न दस्तुरहरु तोकेको छ । एक करोड पुँजी भएको कम्पनी दर्ता गर्न १६ हजार दस्तुर तोकिएको छ । दुई करोडको १९ र तीन करोडको २२ हजार तोकिएको छ भने, १० करोड पुँजी भएको कम्पनी दर्ता गर्न ४३ हजार दस्तुर तोकिएको छ ।

आजको क्याबिनेटले नेपाली सेनाका विनयविक्रम राणासँगै ४ जना महासेनानीलाई पदोन्नति गरी बढुवा तथा पदस्थापन गर्ने र सहायक रथी नरजित शमशेर राणासहित ११ जना सहायक रथीहरुलाई सरुवा गर्ने निर्णय गरेको छ ।

Share Now

Leave a comment.