Prakash Adhikari August 11, 2020

नयाँदिल्ली(भारत), २७ साउन(बीबीसी) । भारतका पूर्व राष्ट्रपति प्रणव मुखजीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

सन् २०१२ देखि २०१७ सम्म गणतन्त्र भारतका राष्ट्रपति हुनुभएका मुखर्जी ८४ वर्षका हुनुहुन्छ।

कोभिड १९ पुष्टि भएको भोलिपल्ट मङ्गलवार उहाँलाई सघन उपचार कक्षमा सारिएको बताइएको छ।

अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

स्थानीय सञ्चारमाध्यमहरूले अस्पतालले उहाँको अवस्था गम्भीर रहेको र आगामी केही घण्टा महत्त्वपूर्ण हुने बताएको उल्लेख गरेका छन्।

राष्ट्रपति हुनुअघि मुखर्जी भारतका अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्त्वपूर्ण पदमा रहेर काम गरिसक्नुभएको थियो।

उहाँले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्याङ्कको बोर्डमा पनि काम गर्नुभएको थियो।

तेस्रो स्थानमा भारत
कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्यामा अमेरिका र ब्रजिलपछि भारत तेस्रो स्थानमा छ।

नयाँदिल्लीमा बिरामी
भारतमा मृत्युदर अन्यत्रभन्दा कम भए पनि सङ्क्रमणको तीव्र वृद्धिदरले विज्ञहरू चिन्तित देखिएका छन्।

भारतमा २० दिनमा सङ्क्रमण १० लाखबाट दोबर हुँदै २० लाख भएको थियो।

विगत २४ घण्टामा त्यहाँ झन्डै ६४ हजार सङ्क्रमित थपिएर कुल सङ्ख्या २३ लाख नजिक पुगेको छ।

Share Now

Leave a comment.