काठमाडौं, ३ भाद्र । प्रेमलाई जीवनको आधार मान्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राजकीय सम्मानसहित बुधबार १० बजे आर्यघाटमा अन्त्येष्टि हुने भएको छ ।
उहाँको १सय १ वर्षको उमेरमा मंगलबार साँझ साढे ५ बजे आफ्नै निवासमा निधन भएको थियो ।
उहाँको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री के.पी.शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल लगायतका राजनेता र साहित्यिक तथा प्राज्ञिक क्षेत्रका व्यक्तित्वसहित आम नागरिकहरुबाट उहाँले आफ्ना साहित्यिक सिर्जनामार्फत नेपाल र नेपालीलाई दिनुभएको अमूल्य योगदानले उहाँ अमर रहने विश्वाससहित सामाजिक सञ्जालमार्फत उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
https://www.facebook.com/surya.thapa.754918/posts/3255662151192933
https://www.facebook.com/sherbahadurdeubanc/posts/751481215688068
https://www.facebook.com/RCPaudelNepal/posts/3517410271623712
राष्ट्रकवि घिमिरेका ज्वाइँ प्रा. डा. हेमाङ्गराज अधिकारीका अनुसार उहाँ दुई सातादेखि गम्भीर बिरामी भएको र उहाँमा श्वासप्रश्वासमा समस्या देखिएको थियो। उहाँ ब्रोन्काइटिस, रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित हुनुहुन्थ्यो।
डेढ महिनादेखि लगातार बिरामी हुनुहुन्थ्यो। अस्पताल लैजाने ल्याउने गरिएको थियो र उहाँलाई घरमै उच्च स्वास्थ्य निगरानीमा राखिएको थियो।
नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउनुभएका राष्ट्रकवि घिमिरे तात्कालिक नेपाल राजकीय प्रतिष्ठानमा कुलपति पनि हुनुभएको थियो ।
विसं १९७६ मा लमजुङको भीरपुस्तुनमा जन्मनुभएका राष्ट्रकवि घिमिरे दुई वर्षअघि गभ्भीर बिरामी पर्नुभएको थियो । त्यसबेला उहाँको उपचार भारतमा पनि गरिएको थियो।
निरन्तर दुई दिन आन्तरिक रक्तस्राव भएर दिसामा रगत देखिएपछि घिमिरेलाई काठमाडौंस्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो।तर रक्तस्राव नरोकिएको र कहाँबाट भएको हो भन्ने पनि पत्ता लाग्न नसकेपछि थप परीक्षण र उपचारका लागि उहाँलाई दिल्ली लगिएको थियो।
मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई विसं २०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधिबाट सम्मानित गर्नुभएको थियो।
काव्यिक चिन्तन
सय वर्ष पुग्न लाग्दा पनि उहाँको सक्रिय जीवनशैलीबारे सोधिएको प्रश्नमा केही वर्षअघि उहाँले बीबीसीसँग भन्नुभएको थियो, ूपहाडमा यति लामो बाँच्ने पनि कोही देखेको थिइनँ, र आफू बाँचौँला भन्ने पनि सोचेको थिइनँ। तपाईं जस्तो छक्क परेर मलाई सोध्नुहुन्छ, म पनि आफैँ छक्क परेको छु।ू

आफ्नो दीर्घजीवनको श्रेय उनी प्रकृति र सद्विचारलाई दिनुहुन्थ्यो।
“काठमाडौं जस्तो सहरमा पनि म यस्तो खुला ठाउँमा बसेको छु, फूलहरु, चराहरुको बीचमा”, उहाँले भन्नुभएको थियो। कविता र काव्यबारे सोच्दासोच्दै अर्थोक सोच्ने फुर्सदै नपाएको उहाँको भनाइ थियो।
गेय भाषामा लेखिएका घिमिरेका धेरै कविताहरू लोकलयसँग नजिक देखिन्छन्। तर उहाँ शास्त्रीय छन्दमा पनि सिद्धहस्त हुनुहुन्थ्यो।
काव्यिक यात्रा
घिमिरे गाउँमा लोकगीत सुन्दै हुर्कनुभएको थिो र त्यो सरल तर गहन शैलीबाट प्रभावित भएको उहाँ बताउनुहुन्थ्यो। “पहाडमा यहाँको जस्तो साहित्यको वातावरण, कवि सम्मेलन, लाइब्रेरी साइब्रेरी इत्यादि थिएनन् “, उहाँले भन्नुभएको थियो।
“तर त्यहाँ गीत थियो। छोटो पङ्क्ति गाएको र मनमा गढ्ने कुरा लोकगीतमा गाइन्छ। अज्ञात तवरले त्यसको प्रभाव ममा परेको छ “, उहाँले आफ्नो काव्यिक यात्रालाई यसरी सम्झनुभएको थियो।

पढ्न काठमाडौं आएपछि बल्ल उहाँले आफूले पनि कविता लेख्न सकिनेरहेछ भनेर थाहा पाउनुभयो।
“कविशिरोमणि लेखनाथ पौड्यालको रचनाहरू पढेपछि मैले थाहा पाएँ, कविता चैँ मान्छेले लेख्ने रहेछ भनेर। देउताको घरबाट आउने कुनै चमत्कारी कुरा होला, प्राकृतिक होला भन्ने लागेको थियो त्योभन्दा अघि “, उहाँको स्वीकारोक्ति थियो।
उहाँको काव्यसाधनाको सूत्र थियो त ?
उहाँकै शब्दमाः “एकान्तमा गुनगुनाएर, आफैँलाई बिर्सेर‘। लेख्दा आफ्नै आँखाबाट आँसु झरोस् न। तब पो मजा हुन्छ। उकुसमुकुस भएर एउटा लेखेर प्रकाशन गर्न दियो, अनि अर्काले अर्थ हालिदिएर राम्रो भन्नुभन्दा आफूले गम्भीर अर्थ हाल्नुपर्छ। अर्काले हेर्दा सामान्य लागेपनि‘।”
शोक र सिर्जना
पहिली पत्नीको वियोगमा उहाँले लेखेको ” गौरी ” शोककाव्य घिमिरेको सर्वाधिक लोकप्रिय कृति हो।
पत्नीशोक र उक्त कृतिबारे उहाँले भन्नुभएको थियो, “उनको २०(२२ वर्षको उमेर। मेरो २७(२८ वर्षको उमेर। भर्खर जन्मेका दुइटी छोरी। एउटा डेरा लिएर बसेको। रातको समयमा १८ दिनसम्म बिरामी भएको। त्यो जाँदाखेरि चाहिँ संसारै डुबेको जस्तो लागेको। मैले चिताउँदै नचिताएको। अविस्मरणीय क्षण त्यही थियो।”
तर त्यो क्षणले उहाँलाई विह्वल मात्रै तुल्याएन, जीवनको सबभन्दा ठूलो पाठ पनि सिकाएर गयो। “उनको निधनपछि मलाई के लाग्यो भने, जीवन जत्तिको मूल्यवान् त केही रहेनछ। यो उज्यालो देख्न पाइयाुछ। यो रङ्ग, यो खुला आकाश।”
राष्ट्रकविको उपाधि
जीवनलाई फर्केर हेर्दा घिमिरे त्यस्तै मूल्यवान् क्षणहरू सम्झन रुचाउँनुहुन्यो। “कवि भएर धेरै मान्छेले दुःख पाइराख्या छन्, आफूले पनि धेरै पाइयो। तर राष्ट्रकविको जुन दिन उपाधि घोषणा भयो, त्यो दिनले खुसी तुल्यायो।”
“जीवनमा केही कोसिस गर्दा केही प्राप्त भयो “, उहाँले भन्नुभएको थियो।
घिमिरेलाई ८५ वर्षको उमेरमा राष्ट्रकविको उपाधि दिइएको थियो।
“पहाडमा दूध र भात खाएर मजासँग खेलेर बसेको मान्छे, सात मोहोर दाम लिएर भागेर पढ्न आइयो। आफैँले दुःख उठाइयो। तपाईँहरू भन्नुहुन्छ नि त्यो घरको विरह, होमसिक्नेस। त्यो भइरहेछ। तर फेरि पढाइ छोड्न पनि नसक्ने। एक वर्ष दोस्रो भएँ अर्को वर्ष क्लासमा होल फस्ट हुन्थेँ “, उहाँले आफ्नो विद्यार्थी जीवन यसरी सम्झिनुभएको थियो।
“उहीँ बसेको भए त एकनासको जिन्दगी हुन्थ्यो। यहाँ आएपछि कविहरू थाहा भो, संसार थाहा भो। राजनीति र नागरिक हक के हो थाहा भो। संसार रमाइलो भो।”
घिमिरेले संसार चिन्ने मात्रै होइन, संसारले घिमिरेलाई चिन्ने पनि समय थियो त्यो। उहाँले “गौरी” र “अश्वत्थामा” मात्रै होइन, “मालती मङ्गले” र “शकुन्तला” जस्ता अनेकौँ कृति लेख्नुभयो। प्रज्ञा प्रतिष्ठानको कुलपति पदको जिम्मेवारी सम्हाल्नुभयो, साझा पुरस्कार र त्रिभुवन पुरस्कारजस्ता अनेकौँ पुरस्कारबाट विभूषित हुनुभयो ।
अनि राष्ट्रकविको उपाधि पाउँदा कविशिरोमणि लेखनाथ पौड्यालपछि सार्वजनिक अभिनन्दनले सम्मानित हुने पहिलो कवि बन्नुभयो।

तथापि उहाँमा जीवनको मुख्य उपलब्धि ती सबै कुरालाई होइन बरु प्रेम छ भन्ने भावना विकसित भएको थियो ।
“बिहा भएर श्रीमती लिएर आएको सबभन्दा रमाइलो। किनभने, एउटा नयाँ मान्छे आफ्नो भनेर आएको छ। फेरि बिताउनु पनि उसैसँग छ जीवन। अचम्मको कुरा छैन तरु ” उहाँ प्रश्न गर्नुहुन्थ्यो।
“त्यो प्रेम चाहिँ कस्तो भनेः स्वाभाविक, प्राकृतिक। हेर्दै पनि आङ जुरुङ्ग हुने, रोमाञ्च हुने। उसको बोली मीठो‘। उसले हेरेको‘। जम्मै के हो त्यो बर्सेर आएको‘त्यही हो। मान्छेले मान्छेलाई प्रेम गरेको, त्यसको बोली, आँखा, सबै चीजले समर्पित भएको, विश्वास भएको, दुइटा आत्मा एउटै भएको, भयो भने त्यो जत्तिको ठूलो केही पनि छैन।”
सद्विचार, सिर्जना र प्रेमको संसारमा रमाइरहेका घिमिरे एक शताब्दीभन्दा लामो जीवन व्यतीत गरेर बिदा हुनुभयो।
उहाँकै शब्दमाः
यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी
नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी।
(बीबीसी)


















