Prakash Adhikari September 17, 2020

काठमार्डौ, १ असोज । छिमेकी मुलुक चीनलगायत एशिया प्रशान्त क्षेत्र तथा इटाली,फ्रान्स र जर्मनी लगायतका युरोपेली मुलुकमा प्राणघातक कोरोना भाइरसको प्रकोप देखिएपछि त्यसबाट नेपाललाई जोगाउन गत चैत्र ११ देखि लगाइएको लकडाउनका विभिन्न स्वरुप, निषेधाज्ञा र प्रतिबन्धहरु केहि क्षेत्रबाहेक अधिकांश क्षेत्रमा आजदेखि सशर्त खुला भएको छ ।

शैक्षिक संस्था,सिनेमा हल र अधिक भीडभाड हुने पूजाँ पाठ, धार्मिक अनुष्ठान,चाडपर्व लगायतका सामाजिक र सांस्कृतिक कार्य,बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, दर्शकहरुको जमघट गरी खेल प्रतियोगिता सञ्चालन गर्न र म्युजिक कन्सर्ट लगायतका मेला र भेलामा भने अझै प्रतिबन्ध लगाइएको छ ।

 

Image

यही साता( भदौ २९ गते सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ देखि संभव भएका र सावधानी अपनाउदा कोरोना संक्रमण व्यापक रुपमा नफैलने खालका सबै व्यवसाय लगायत आर्थिक सामाजिक गतिविधिहरु सञ्चालन फुकुवा गर्ने निर्णय गरेको थियो ।

सरकारको सोही निर्णयलाई आधार मानेर अधिकांश जिल्ला प्रशासन कार्यालयले शैक्षिक सस्था,सागीतिक मेला र भेला, खेलकुद प्रतियोगिता, धार्मिक र सांस्कृतिक मेला,भेला,अनुष्ठान,सिनेमा हल बाहेकका व्यवसायिक र आर्थिक तथा सामाजिक गतिविधिहरु फुकुवा गरेका छन् ।


काठमाडौँ उपत्यकाका तीन वटै (काठमाडौँ, भक्तपुर र ललितपुर) जिल्ला प्रशासन कार्यालयहरूले भदौ २४ बाट खुकलो बनाएको निषेधाज्ञा अझ खुकुलो बनाएका छन्। बिहीबारदेखि तीन वटै जिल्लामा लामो तथा छोटो दूरीका सार्वजनिक तथा निजी सवारीसाधन सञ्‍चालन गर्न पाइने छ तर जोर बिजोर प्रणालीको पालना गर्नुपर्ने छ अर्थात जोर बारमा जोर नम्बर प्लेट भएका सवारी र बिजोर बारमा बिजोर नम्बर भएका सवारी साधन चलाउनु पर्नेछ ।

अत्यावश्यक सेवा,कार्यालयका कर्मचारी र ढुवानी सेवामा भने जोरबिजोर लागु नहुने जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

 

उपत्यकाका तीन वटै जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा निजी सवारी साधनहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी जोरबिजोर प्रणालीअन्तर्गत सञ्चालन गर्नुपर्ने आदेश जारी गरेका छन् ।

आन्तरिक उडान असोज ५ देखि मात्र

भदौ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गतेदेखि नै आन्तरिक उडान सञ्चालन गर्न दिने निर्णय गरेपनि संस्कृति,पर्यटन तथा नागरिक उडेडयन मन्त्रालयले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने तर हालको भाडा दर बढाउन पाइने शर्त राखेपछि त्यसमा वायुसेवा सञ्चालकहरुले असहमति जनाएका छन् ।

Nepal Domestic Flights, Ticket Booking, Schedule, Airlines, Airports

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा १ असोजमा उडान खुला गर्ने निर्णय सार्वजनिक भएपनि सोही दिन जहाज उड्न नसक्ने र ५० प्रतिशत यात्रु राखेर समेत उडान सम्भव नभएको अडान दोहोर्‍याएका छन् ।

मन्त्रालयले भने यसअघि तोकिएको सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरेको छ । तर, व्यवसायी भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका थिए ।

‘५० प्रतिशत मात्र यात्रु राख्नुपर्ने विषयमा हाम्रो असहमति छ, अन्य विषयमा समस्या होइन, यात्रुको संख्यामा सहमति भए ५ असोजबाट भने जहाज उडाउन व्यवसायी तयार देखिएका छन्,’ समिट एयरका प्रवन्ध निर्देशक मनोज कार्कीले भन्नुभयो, ‘भाडा बढाउने निर्णयमै हाम्रो असहमति हो, किनकी यात्रुलाई मार पारेर हामी व्यवसाय अगाडि बढाउन सक्दैनौं ।’

यसअघि सरकारले मंगलबार १ असोजबाट हवाई उडान खुल्ने बताएको थियो । तर, मन्त्रालयले मंगलबार नै वायुसेवा कम्पनीहरुलाई बुधबार छलफलका लागि गरिएको आमन्त्रणमा भने मन्त्रिपरिषद्बाट ५ असोजबाट उडान गर्ने उल्लेख छ ।

सरकारको अस्थिर निर्णयले आफूहरु अन्यौलमा परेको वायुसेवा सञ्चालकहरुले बताएका छन् ।

Share Now

Leave a comment.