Prakash Adhikari October 6, 2020

काठमाडौं, २० असोज । कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २२ मेगावाट क्षमताको सेती खोला हाइड्रोपावर परियोजनामा ऋण लगानी गर्ने भएका छन् ।

कुमारी बैंकको नेतृत्वमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सहवित्तीय लगानीमा ३ अर्ब २५ करोड रुपैया लगानी हुने सम्झौता भएको छ ।

ऋण संझौता अनुसार सेती खोला हाइड्रोपावर प्रा.लि.ले कास्की जिल्लाको पोखरा महानगरपालिकामा निर्माण गर्न लागेको २२ मेगावाट क्षमताको सेती खोला हाइड्रोपावर आयोजनामा कुमारी बैंकबाट २ अर्ब र इन्फ्रास्ट्रक्चर बैंकबाट १ अर्ब २५ करोड गरी जम्मा ३ अर्ब २५ करोड रुपैंयाँ बराबरको कर्जा लगानी हुनेछ ।

कर्जा लगानीसम्बन्धी सम्झौता पत्रमा कुमारी बैंकको तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा अनुप आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माण कार्य द्रुत गतिमा संचालन गरी निर्धारित व्यवसायीक संचालन मितिभित्रै परियोजना सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कुमारी बैंकका नायव महाप्रबन्धक खनालले बैंकले हालसम्म ४९ वटा विभिन्न परियोजनामा २२ अर्ब ८५ करोड बराबरको कर्जा सीमा स्वीकृत गरिसकेको जानकारी दिनुभएको थियो भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायव कार्यकारी अधिकृत पाण्डेले बैंकले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा ८ अर्ब ३५ करोड बराबरको कर्जा सीमा स्वीकृत गरिसकेको जानकारी दिनुभएको थियो ।

Share Now

Leave a comment.