नयाँ दिल्ली (भारत),१५ माघ । इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्य पदक जितेकी नेपालकी विमला श्रेष्ठले स्वर्णको समेत अपेक्षा गरेकी छन् ।
आइतबार राति वेन्टम ५४ केजीकी विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै उनले कास्य पदक जितेकी हुन् ।
दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा त्रिभुवन आर्मी क्लबकी विमलाले ताजिकिस्तानकी फार्डियालाई आरएसिको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउदै कास्य पक्का गरेकी हुन् । विमलाको यो पहिलो अन्तर्रा्ष्ट्रिय पदक समेत हो । उनले दोस्रो अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएकी हुन् ।
विमलाले स्वर्ण र रजत जित्ने लक्ष्य लिएको बताएकी छन् ।उनले अर्को चरणको खेलमा जित्ने लक्ष्यसहित रिङमा उत्रने बताइन
। विमला सेमिफाइनलमा मंगलबार भारतीय खेलाडी मनिषासँग खेल्दै छिन् ।
विमला नेपाल बक्सिङ संघले गत पुसमा भएको राखेप च्याम्पियनसिप अन्तर्गतको २७ औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगितामा उत्कृष्ट फाइटर बनेकी थिइन् ।
नेपालले बक्सिड.का ठूला अन्तराष्टिय प्रतियोगितामा धेरै समयपछि पदक जितेको मुख्य प्रशिक्षक प्रकाश थापा मगरले जानकारी दिएका छन् । नेपालले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद(साग) मा पदक जितेपछि यो पहिलो अन्तर्रा्ष्ट्रिय पदक जितेको हो ।
प्रतियोगितामा नेपाल र आयोजक भारतसहित २३ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत नै पुरुषतर्फ नेपालका विष्णुप्रसाद घलेले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
वेल्टर ६९ केजीका बिष्णुले अफगानिस्तानका वासुद्दीन घाव्सीलाई अंकको आधारमा पराजित गरेका थिए ।
आर्मी क्लबकै विष्णुले वासुद्दीन घाव्सीलाई ३ – २ ले हराए । प्रतियोगिता अन्तर्गत नै आइतबार राति अन्य दुई महिला खेलाडी भने पराजित भएका छन् ।
महिला लाइट फ्लाइवेट ४८ केजी तौलकी ललिता महर्जन केन्याकी एन्जिभा भेरोनिका नबिथेसँग र लाइटवेट ६० केजीकी संगीता सुनार थाइल्याण्डकी पिमविलाई लावोपिमसँग अंकको आधारमा पराजित भईन ।
प्रतियोगिता अन्तर्गत सोमबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । सोमबार नेपालका तेज बहादुर देउवा (४९केजी) , प्रेम चौधरी (५२ केजी) र भुपेन्द्र थापा (६४ केजी) तौल समूहमा प्रतिस्पर्धा गर्दै छन् ।