Prakash Adhikari January 16, 2021

दुम्कौली (नवलपुर), ३ माघ । नेपाली कांग्रेसका निर्वाचित महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री के.पी. ओलीले च्यातेको संविधानको रक्षा संसदको पुनस्थापनाबाट मात्र संभव हुने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को पौष ५ गतेको असंवैधानिक सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन भएको विरोधमा नेपाली कांंग्रेसद्धारा शनिवार आयोजित पालिकाकेन्द्रमुखी विरोध प्रदर्शनलाई नवलपुरको देवचुली नगरपालिकामा संबोधन गर्दा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने बताउदै भन्नुभयो, प्रधानमन्त्री ओलीले पार्टी झगडा मिलाउन नसकेर संसद् विघटन गर्नु संविधानको मर्मविपरीत छ । प्रधानमन्त्रीको असंवैधानिक कदमले संविधान नै च्यातिएको छ । घोषित मितिमा निर्वाचन हुने कुरामा कसैलाई विश्वास छैन ।

उहाँले सत्तरी वर्षको संघर्षपछि बनेको संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोले संविधान रक्षा गर्न पनि कांग्रेस सडकमा आउनु परेको उल्लेख गर्नुभयो ।

शनिबार पूर्वी नवलपरासीको ८ वटै पालिकामा कांग्रेसले शनिबार विरोध प्रदर्शन गरेको छ ।

जिल्लाको गैंडाकोट, देवचुलीको दुम्कौली, कावासोती, मध्यविन्दुको अरुणखोला, हुप्सेकोट, बुलिङ्गटार, बौदिकालीको डेढगाउँ र विनयीत्रिवेणीको सर्दिमा पालिकास्तरीय विरोध प्रदर्शन र सभा सम्पन्न भएका छन्।

 

Share Now

Leave a comment.