कीर्तिपुर(काठमाडांै), ४ माघ । काठमाडौंमा भैरहेको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा विभागीय टोली डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई बागमती प्रदेशले ७ विकेटले पराजित गरेर स्तब्ध पारेको छ।
त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न खेलमा नेपाल प्रहरीले दिएको १ सय १२ रनको लक्ष्य बागमतीले ३ विकेट गुमाएर ३४. ४ ओभरमा पूरा गरेको थियो।
बागमतीको जितमा पृथु बास्कोटाले अविजित ४८ तथा इशान पाण्डेले अविजित १७ रन बनाए। यस्तै पारस खड्काले १७, आदील खानले १२ रन योगदान दिए।
पुलिसको बलिंगमा दिपेन्द्र ऐरी र ललित राजबंशीले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले २९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ११ रन बनाएको थियो।
पुलिसको लागि दिपेन्द्र ऐरी र आरिफ शेखले समान २१ रन तथा सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन योगदान दिए।
बागमतीको बलिंगमा नन्दन यादव र तिलक भण्डारीले समान ४ ।४ विकेट लिए। रामनरेश गिरिले २ विकेट लिए।