जनकपुरधाम(धनुषा), २१ माघ । आइतबार अपरान्ह १ स्०० बजेदेखि आरम्भ हुने २ नं प्रदेशको प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकको तयारी पूरा भएको छ ।
प्रदेश २ को पहिलो प्रदेशसभा बैठक दिउँसो १ बजे अस्थायी राजधानी जनकपुरमा बस्दैछ।
प्रदेश सभा सचिवालयले बैठक सञ्चालनका लागि शैक्षिक तालीम केन्द्र जनकपुरको भवनलाई आवश्यक भौतिक पूर्वाधारले सुसज्जित बनाएका छन् । बैठकस्थलमा सभामुखको आसन, प्रदेशसभाका सचिवको आसन र प्रदेश सभा सदस्यहरु सहित सञ्चारकर्मी र दर्शकहरुका लागि अलग अलग कक्ष बनाइएको छ ।
बैठक स्थलमा माइक र साउण्ड सिस्टम पनि जडान भैसकेको छ ।
पहिलो अधिवेशनको पहिलो बैठक सञ्चालनमा आवश्यक सहमति जुटाउन शनिवार बसेको सर्वदलीय बैठकले बैठकको कार्यसूचीलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ ।
शैक्षिक तालिम केन्द्रको भवनमा बस्ने बैठकको अध्यक्षता जेष्ठ सदस्य लगनलाल चौधरीले गर्नेछन्।
बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुख चौधरीले बाचन गर्नेछन् ।
त्यसपछि शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ ।
त्यसपछि राष्टिय गान हुनेछ ।
पहिलो अधिवेशनको पहिलो बैठक भएकोले सभामुखले मन्तव्य राख्नेछन् ।
त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुले मन्तव्य राख्नेछन् ।
त्यसपछि सभामुखले सभामुख र उपसभामुखको निर्वाचनको मिति घोषणा गर्ने कार्यक्रम छ ।
अर्को बेठकको मिति निर्धारण गरी आजको बैठक समापन गर्ने सहमति शनिवारको सर्वदलीय बैठकमा भएको छ ।
शनिवारको सर्वदलीय बैठकले नियमावली मस्यौदा समिति गठन सम्बन्धमा विस्तृत छलफल गरी अर्को बैठकमा अन्तिम रुप दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले प्रदेशसभा सदस्य, सभामुख, कर्मचारी, मर्यादापालकका पोशाक, सिट निर्धारण, अध्यक्ष मण्डलको मनोनयन, सभाको अन्तरिम कार्यविधिको मस्यौदा कार्यसूचीलाई अनुमोदन गरेको छ ।
संघीय संसद् सचिवालयका उपसचिव वंशीराज पौडेलले सभामुखको निर्वाचनको तालिका २९ गते निर्धारण गरिने जानकारी दिए ।
कार्यव्यवस्था परामर्श समितिको माघ २९ गते बिहान ८ बजे बस्ने बैठकले सभामुखको निर्वाचन तालिका निर्धारण गरी सोही दिन १ बजे बस्ने प्रदेशसभाको बैठकमा सो तालिका प्रस्तुत गरिने बताइएको छ ।
प्रदेश २ का वारा,पर्सा,रौतहट,सर्लाही,महोत्तरी,धनुषा,सिराहा र सप्तरीका प्रदेशसभा सांसदहरु जनकपुर पुगिसकेका छन्।
१ सय ७जना सांसद् रहेको यो प्रदेशमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता दलको बहुमत छ।
यी दुई पार्टी मिलेर सरकार बनाउने तयारी गरेका छन्।
मुख्यमन्त्री, सभामुख तथा उपसभामुख चयनका लागि दुवै दल आन्तरिक छलफलमा जुटेका छन।
गएराति अबेरसम्म छलफल गरेका दलहरूले आइतबार बिहान पनि थप छलफल गर्ने जनाएका छन्।