विराटनगर(मोरड.), ९ फागुन । प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकोले स्थगित हुँदै आएको प्रदेश १ प्रदेशसभाको बैठक आज आइतबार दिउँसो दुई बजेको लागि बोलाइएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्नका लागि बैठक बोलाइएको हो।
नेपालको संविधानको धारा १८८(४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १२९(१) बमोजिम दर्ता भएको प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव ऐ नियमावली को नियम १२९ (४) बमोजिम पेश हुने जनाइएको छ।
यसअघि बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए।
शनिवार प्रधानमन्त्री के.पी.ओली विराटनगरमा शक्ति प्रदर्शनको क्रममा आउनुभएको र त्यस पहिले प्रदेश सभा सदस्य उषाकला राईले आफ्नो क्याम्प फेरेर प्रधानमन्त्री ओलीलाई साथ दिएकोले मुख्यमन्त्रीको पक्षलाई केही राहत प्राप्त भएको अनुमान गरिएको छ । प्रधानमन्त्रीको रोहबरमा प्रदेश सभाका केही सदस्यहरुलाई नगद सहयोग र उधारो आश्वासन दिइएकोले मुख्यमन्त्री केही ढुक्क हुनुभएको विपक्षीहरु बताउछन् ।
गत पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि अहिलेसम्म उक्त प्रस्ताव संसद् बैठकमा टेबल हुन सकेको छैन।
माघ ७ गतेदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै स्थगित भएको थियो।
माघ २५ गते दोस्रो बैठक बसेर अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची निर्धारण भए पनि मुख्यमन्त्री निकट सांसदहरुकै अवरोधका कारण स्थगित भएको थियो।


















