Prakash Adhikari May 7, 2021

काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि भावि सरकारको नेतृत्व लिन निरन्तर दबाब बढिरहेको छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओली नेपाली जनताले ७ दशकभन्दाबढी समयदेखि निरन्तर संघर्ष गरेर हासिल गरेको संविधान सभाले निर्माण गरेको वर्तमान संविधान र यसले परिपोषित गरेको राजनीतिक व्यवस्थालाई समाप्त गर्न न्वारानदेखिको सामाथ्र्य लगाउनु भएकोले उहाँलाई विस्थापन गरी संविधान र गणतन्त्रसहितको बहुदलीय संसदीय व्यवस्थालाई जोगाउन कांग्रेसमाथि यस्तो दवाव बढिरहेको हो ।

दोस्रो पटक सत्ता सम्हालेदेखि नै संविधानको उल्लंघन गर्दै प्रतिगमनको मार्ग तयार बनाउनु भएका प्रधानमन्त्री ओलीले विनाकारण गत पौष ५ मा प्रतिनिधिसभाको विघटन गर्न राष्ट्रपतिमा सिफारिस गरेपछि उहाँको लोकतन्त्रको खास्टोले छोपिएको भयानक प्रतिगामी अनुहार उदांगो हुन पुगेको थियो ।

सर्वोच्च अदालतले उहाँले चालेको प्रतिनिधिसभाको विघटनको कदमा संविधान विपरित भएको व्याख्या गर्दै उक्त शिफारिस र त्यसका आधारमा राष्ट्रपतिबाट भएको विघटनको कार्य प्रारम्भदेखिनै बदर गरेपछि नैतिकताका आधारमा राजिनामा नदिएर लिसो झै टाँसिरहुन भएका प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत लिने घोषणा गर्नुभएको छ ।

जनताको हक अधिकार र लोकतन्त्रको लागि २०२८ सालको झापा बिद्रोहदेखि लाग्नुभएका ओली २०६२।६३ सालको जनआन्दोलनले हासिल गरेको संविधानसभा र त्यसले निर्माण गरेको संविधानले स्थापित गरेको गणतन्त्र र संघीयता सहितको समावेशी, बहुदलीय संसदीय व्यवस्थालाई समाप्त पार्न अग्रसर भएको प्रमाणित भएकोले उहाँकै दलका उहाँका प्रतिगामी कदमप्रति विमति राख्ने नेताहरुले उहाँलाई विस्थापन गर्न चाहिरहेका छन् ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको पक्षमा विश्वासको मत पुर्याउन नदिने त्यसपछि सिर्जना हुने राजनीतिक परिस्थितिमा पनि नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्ने नदिने रणनीति तय गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति देउवालाई बिहिबार उहाँकै निवास बुढानीलकण्ठमा भेट्नुभएको थियो ।

बिहीबार साँझ नेपाल आफू निकट नेता भीम रावलसहित देउवा निवासमा पुगेर छलफल गर्नुभएको थियो । उनीहरुबीच एक घण्टा बढी छलफल भएको थियो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको हो ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसहित भेटवार्ता गरेपछि बिहीबार नेपाल पक्षले देउवासँग भेटवार्ता गरेको हो ।

बुधबार नेकपा एमालेका वरिष्ठ नेता नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका नेता उपेन्द्रयादवलाई पनि भेट्नुभएको थियो ।

मंगलबारको महत्वपूर्ण बैठक

नेपाली कांग्रेसको उच्च स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई विश्वासको मतमा अल्पमतमा पार्ने र त्यसपछि सत्ताबाट गलहत्याउने बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सत्तारुढ दल नेकपा एमालेकै असन्तुष्ट नेताहरुबीच मंगलबार महत्वपूर्ण बैठक सम्पन्न भएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जेठान प्रदीपसमशेर राणाको महाराजगञ्जस्थित घरमा भएको सो बैठकमा यही बैशाख २७ गते प्रधानमन्त्रीले लिने विश्वासको मतबाट उहाँलाई विस्थापन गर्ने बारेमा सहमति बनेको थियो । सो सहमति अनुसार प्रधानमन्त्रीको पक्षमा बहुमत पुग्न नेकपा एमालेका सबै सांसदहरु एकै ठाँउमा उभिनुपर्ने र जनता समाजवादीका मतहरु थपिनु पर्ने हुन्छ । नेकपा एमालको असन्तुष्ट समूहका नेताहरु अनुस्थित भए जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहका सांसदहरुको समर्थनले मात्र ओलीको सरकार जोगिदैन । जसपाभित्रका उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय सांसदहरु वर्तमान ओली सरकारको विरुद्धमा छन् ।

सो बैठकमा नेकपा एमालेका असन्तुष्ट नेता नेपालले कांग्रेस सभापति देउवालाई ओलीको विरुद्ध दह्रो खुटट टेक्ने भए आफ्रनो समूहले ओलीलाई विस्थापन गरी ओलीबेगरको नयाँ सरकार निर्माणमा सघाउन आफू तयार रहेको बताउनुभएको थियो ।

नेकपा एमालेका अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री ओलीले आफूहरुलाई राज्ययन्त्र लगाएर पनि दुःख दिएको र पार्टीमा पनि विधानबाहिर गएर हदैसम्मको कारबाही गर्न खोजेकोेले संविधान र यसले स्थापना गरेको राजनीतिक प्रणालीको रक्षाको लागि जस्तोसुकै जोखि उठाउन पनि आफूहरु तयार रहेको उहाँले बताउनुभएको थियो ।

बैठकमा जसपाका नेता यादवले प्रधानमन्त्री ओलीले प्रतिगमनको नेतृत्व गर्नुभएकोले वर्तमान राजनीतिक व्यवस्थाका हिमायती शक्तिहरु एकठाँउमा उभिन पर्ने बताउनुभएको थियो । उहाँले जसपाका अधिकाधिक सांसदहरुलाई प्रतिगमनको विरुद्ध उभ्याउने प्रयास जारी रहेको तर प्रधानमन्त्री ओली भ्रष्टाचारबाट लुटेको धनले व्यक्ति व्यक्तिलाई ५ । ५ करोड अफर गरेर व्यवधान सिर्जना गरेको बताउनुभएको थियो ।

मंगलबार विपक्षी दलका नेताहरु सहित आफ्नै पार्टीका असन्तुष्ट नेताहरुले आफूलाई विश्वासको मत नदिने सहमति गरको थाहा पाएपछि बुधबार प्रधानमन्त्री ओली आफ्ना निकट नेताहरुलाई लिएर नेपाली कांग्रेसका सभापति देउवको निवासमा विश्वासको मतको पक्षमा मत दिन आग्रह गर्दै पुग्नुभएको थियो । तर कांग्रेस सभापति देउवाले प्रमुख प्रतिपक्ष भएकोले सरकारको समर्थनमा मतदान गर्न नसकिने बताएर उहाँलाई विदा दिनुभयो ।

देउवाको मन फेरियो, अब फर्कन्न

नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री पदबाट ओलीलाई हटाउन सार्थक प्रयास नगरेको आरोप खेप्दै आउनुभएको छ । यसपहिले उहाँले नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेपनि सरकारको समर्थन फिर्ता नलिएकोले आफ्नो पक्षमा संख्या नपुग्ने र कच्चा खेल नखेल्ने बताउदै आउनुभएको थियो ।

तर अहिले परिस्थिति फेरिएको छ । नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सभापति देउवाको पूर्वशर्त अनुसार उहाँले ओलीलाई दयामाया गर्ने ठाँउ बचेको छैन् ।

बैशाख महिनामा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवाका बीचमा राजनीतिक दूरी बढाउने दुई काम भएका छन् । नेपाली कांग्रेसको अग्रसरतामा गण्डकी प्रदेशमा ल्याइएको अविश्वासको प्रस्ताव निस्तेज पार्न प्रदेशको सत्तापक्षले सांसद लुकाउने जुन घृणित कार्य गर्ेको थियो, त्यसको पनि कांग्रेस सभापति देउवाले विरोध गर्नुभयो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव निस्तेज पार्न विशेष अधिवेशनको दिनमा राजिनामा दिने र बहुमत सदस्यहरु आफ्नो विपक्षमा हुँदा हुँदै प्रदेश प्रमुखलाई दवाव दिई बहुमतीय धारा अन्तरगत पुनः नियुक्ति लिई प्रदेश प्रमुखलाई नै आफ्नो कार्यकक्षमा बोलाएर शपथ लिने जुन अमर्यादित र असंसदीय व्यवहार त्यहाँका मुख्यमन्त्री पोखरेलले देखाउनुभयो, त्यसका पनि कांग्रेस सभापतिले विरोध गर्नुभएको छ ।


Share Now

Leave a comment.