Prakash Adhikari February 13, 2018

 

काठमाडौ, १ फागुन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा आएका रक्षा राज्यमन्त्री ल्यानकाष्टरसँग आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो शिष्टाचार भेटमा अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । जवाफमा ल्यानकाष्टरले हालैको निर्वाचनबाट नेपालमा वाम गठबन्धनले विजय हासिल गरेकामा बधाई दिँदै आफूहरु लगानी बढाउन सकारात्मक रहेको स्पष्ट पारेको भेटमा सहभागी एमाले नेता डा राजन भट्टराईले जानकारी दिए।

राज्यमन्त्री ल्यानकाष्टरले बेलायती सेनामा काम गर्ने पूर्वगोर्खा सैनिकको निवृत्तिभरण सुविधाबारेमा गठित संयुक्त प्राविधिक टोलीले गरिरहेको प्रगतिबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध स्थापना भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन ल्यानकाष्टरले आग्रह गरेका थिए ।

यस्तै बेलायती चार्टर एकाउन्टेन्स पढ्ने विद्यार्थीका लागि नेपालमा समकक्षताका लागि देखिएको समस्याबारे पहल गर्न राज्यमन्त्रीले आग्रह गरेका थिए । नयाँ सरकार गठन र वाम एकता प्रक्रियाबारेमा पनि ल्यानकाष्टरले चासो व्यक्त गरेकाे बताइएको छ । रासस

Share Now

Leave a comment.