काठमाडौं, ९ जेठ । नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ५ लाख नाघेको छ। शनिवार पछिल्लो २४ घन्टामा थप ८ हजार ९ सय ८० जना कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै संक्रमितको संख्याले ५ लाख नाघेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाभाइरस महामारी सुरु भएयता सङ्क्रमित हुनेहरूको कुल सङ्ख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ।
शनिवार पनि कोभिडका कारण थप १ सय २९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म कोरोनाभाइरसका कारण नेपालमा जीवन गुमाउनेको संख्या ६ हजार १ सय ५३ जना पुगेको छ।
दक्षिण एशियामा भारत, पाकिस्तान र बाङ्लादेशपछि कुल सङ्क्रमितको सङ्ख्यामा नेपाल चौथो स्थानमा पुगेको छ।

भारतमा २ करोड ६२ लाख, पाकिस्तानमा ८ लाख ९७ हजार, बाङ्लादेशमा ७ लाख ८६ हजार, श्रीलङ्कामा १ लाख ५८ हजार र चीनमा १ लाख २ हजार भन्दा बढी कुल सङ्क्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको कोभिड ड्यासबोर्डले देखाएको छ।
विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २० हजार १ सय ५ वटा परीक्षण गरिएको थियो।

सो अवधिमा काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।



















