Prakash Adhikari February 14, 2018

विण्डहोक(नामिबिया), २ फागुन । आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले क्यानडासंग टस जितेर बलिंग गर्ने निर्णय गरेको छ।

प्रतियोगिताको टप-२ भित्र पर्दै मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ आईसीसी बिश्व कप छनौट हुन नेपालले आज क्यानडाबिरुद्ध जित निकाल्नै पर्ने अवस्था रहेको छ।

आजको खेलमा नेपालले पारस खड्काको कप्तानीमा ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी , सन्दिप लामिछाने, सोमपाल कामी, करन केसी, आरिफ शेख, दिलिप नाथ र रोहित पौडेललाई मैदानमा उतार्ने छ ।

अघिल्लो खेलमा नखेलाईएका दिलिप नाथलाई आज टिममा बोलाइएको छ भने शक्ति गौचन र ललितसिंह भण्डारी आज पनि अन्तिम ११ मा छैनन्।

प्रतियोगितामा हालसम्म नेपालले खेलेको ४ वटा खेल मध्ये एउटा खेलमा ओमानसंग हार बेहोरेको छ भने नामिबिया, केन्या र युएईलाई पराजित गरेको छ।

जित्नै पर्ने बाध्यता

लिगको अंकतालिकामा क्यानडा, नामीबिया र नेपालले ४ खेल खेल्दै समान ३ जित र १ हार बेहोरेता पनि नेट रनरेटको आधारमा क्यानडा पहिलो नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा रहेको छ।

क्यानडाको नेट रनरेट १.११६ , नामिबियाको ०.७८७ रहेको छ भने नेपालको -०.१५८ रहेको छ। ४ खेलमा २ जित र २ हार बेहोरेको युएईको नेट रनरेट १.२२१ रहेको छ जसकारण युएईले नामिबियालाई पराजित गरेको खण्डमा युएईको टप-२ भित्र पर्ने सम्भावना धेरै छ।

यो अवस्थामा लिग चरणको अन्तिम दिन नेपालले क्यानडालाई पराजित गरेको खण्डमा मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप छनौटमा नेपाल छानिनेछ। नेपाल क्यानडासंग हारेको खण्डमा तथा नामिबियाले युएईसंग हारेको खण्डमा भने नेट रनरेटको आधारमा नेपाल, युएई र नामिबिया मध्ये १ टिम टप २ भित्र क्यानडासंग टप २ हुनेछ।

कमजोर -०.१५८ नेट रनरेट रहेको नेपाल क्यानडासंग हारेको खण्डमा भने टप-२ पर्ने सम्भावना अत्यन्तै कम छ। क्यानडासंग नेपाल हार्यो र अर्को खेलमा नामिबियाले युएईलाई जित्यो भने स्वतः क्यानडा र नामिबिया छनौट हुनेछन्। नेपाल हार्यो र युएईले नामिबियालाई जितेको खण्डमा ३ वटै टिमको ३र३ जित र २र२ हार हुनेछ जसकारण युएई, नेपाल र नामिबिया बीच नेट रनरेटमा अघि हुने टिम टप-२ मा छानिनेछ। युएई १.२२१ र नामिबिया ०.७८७ को नेट रनरेट नेपालको -०.१५८ ० भन्दा निकै माथि हुँदा क्यानडासंग नेपाल हारे नेपाल टप २ भित्र पर्ने सम्भावना अत्यन्तै कम हुन्छ।

Share Now

Leave a comment.