Prakash Adhikari May 27, 2021

 

काठमाडौं,१३ जेठ । धितोपत्र बजारमा हरेक दिन जसो नयाँनयाँ रेकर्ड कायम भइरहेको छ । सोही क्रममा आज पनि नयाँ रेकर्ड बनेको छ । नेपवाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार हालसम्मकै कारोवार रकम उच्च देखिएको छ ।

कूल २१५ कम्पनीको चार करोड १८ लाख १३ हजार ९४४ कित्ता शेयर रु १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ मा कारोवार भयो । बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब छ अर्ब ७६ करोड ८० लाख ४४ हजार ५२७ बराबर भएको छ ।

कारोवार मापक परिसूचक नेप्से १.२० अङ्कले घटेर २८१५.३९ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोवारमा मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ ले घटेर ५०३.७० मा ओर्लेको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.४६, होटल तथा पर्यटन १४.८३, अन्य २४.०२, लघुवित्त १९१.६९, जीवन बीमा १३६.३६ र लगानी ०.६७ बिन्दुले घटेको छ । यस्तै, व्यापार २८१.५३, विकास बैंक ११४.३३, जलविद्युत् १३१.७८, वित्त ३६.८१, निर्जीवन बीमा १४२.२९, उत्पादन ३२.६ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड २८ लाख ३४ हजार ४०१ बराबरको कारोवार भयो । यस्तै, अरुण काबेली पावर ३७ करोड ७४ लाख नौ हजार ८८८, चिलिमे जलविद्युत् कम्पनी रु ३७ करोड तीन लाख ११ हजार ९९६, युनाइटेड मोदी रु ३५ करोड ५४ लाख ५८ हजार १२९ र नेपाल पुनःबीमा कम्पनी रु ३० करोड ५१ लाख ८५ हजार ७७४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रोका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । ती कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, अरुण काबेली ९.९८ र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाए ।

यस्तै समता लघुवित्त ५.२३, मेरो माइक्रोफाइनान्स ५.०६, एनएमबी माइक्रोफाइनान्स ४.८४, एनआइसि एशिया लघुवित्त ४.८४ र नेरुडे लघुवित्तका लगानीकार्तले ४.७३ प्रतिशतले गुमाए । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण लघुवित्त कम्पनीका शेयर भने आज ओरालो लागेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई लघुवित्त कम्पनीको शेयर खरिदमा समयसीमा तोकेको छ ।

Share Now

Leave a comment.