Prakash Adhikari July 3, 2021

बेलटार (उदयपुर), १९ आषाढ । कमला नदी र फूलजोर खोलाको पुल भासिएको चर्चा सेलाउन नपाउदै उदयपुरमा अर्को निर्माणाधीन पक्की पुल भत्किएको छ ।

उदयपुरबाट प्राप्त समाचारमा जनाइए अनुसार हस्तान्तरणको तयारीमा रहेको त्रियुगा पुल यस बर्षको मनसुनले शुरुआतमा ल्याएको बाढीको पहिलो झोक्का खप्न नसकेर बगेको छ ।

एक दशक भन्दा धेरै समय लगाएर निर्माण गरिएको उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थित शिबाईबेल्ही जोड्ने पुल निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा रहेको बेला आज आएको बाढी ले बगाएकोमा स्थानीयहरु चिन्तित छन् । यो पुल बनेपछि हिउँद र बर्षा बाह्रै महिना निर्विघ्नतापूर्वक आवातजावत गर्न पाउने उनीहरुको सपना थियो । तर यस बर्षको बाढीले बगाइदियो ।

हिजो मात्रै भासिएको थियो फूलजोरको पुल

लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधीन रहेको पक्की पुल शुक्रबार मात्रै भासिएको थियो । लालबन्दी–३ र ईश्वरपुर–८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल सामान्य पानी पर्दै भासिएको हो ।

१२ करोडको लागतमा आर्थिक वर्ष २०७५÷७६ बाट निर्माण शुरु गरिएको पक्की पुल ढलानको काम सकिएको थियो । ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा आएको सामान्य पानीका कारण पुल भासिएको छ । रु १२ करोडको लागतमा निर्माण शुरु गरिएको पुलको लम्बाइ करीब २०० मिटर रहेको ठेकेदार मनोजकुमार साहले बताउनुभयो । उहाँका अनुसार कूल लम्बाइ २०० मिटर रहेकामध्ये ४० मिटर भासिएको हो । पप्पु एन्ड शिवशङ्कर (जेभी)ले आव २०७५-७६ बाट निर्माण शुरु गरी चालु आवमा निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का लिएको थियो ।

पुल निर्माणको करीब ८० प्रतिशत काम सकिएको र बाँकी काम यही महिनाभित्रमा सकाउने तयारीमा रहेको ठेकेदार कम्पनीे करीब ४० मिटर पुल भासिँदा करीब रु २ करोड घाटा लागेको बताएको छ । सो पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको थियो । वर्षाको मौसम र बालुवामाथि फर्मा राखिएका कारण पुल पनि भासिएको हो ।

दुई दिन पहिले भासियो कमलाको पुल

हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल पनि बिहिबारमात्र भासिएको थियो । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको जनाइएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार पुलको १२ स्पानमध्ये एउटा स्पान एक फिट भासिएको छ । रू। २४ करोड ४२ लाखका लागतमा सम्पन्न भएको सो पुलको निर्माण गर्न शुरुआतमा पप्पु कन्सट्रक्सनले ठेक्का पाएको थियो ।

सो कम्पनीले समयमा पुल निर्माण नगरेपछि लुम्बिनी विल्डर्सलाई ठेक्का दिइएको थियो । सो कम्पनीले यही असार १३ गते निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेको बताइएको छ ।

 

Share Now

Leave a comment.