काठमाडौँ, २३ आषाढ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९ सय ७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५० हजार १ सय ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर ७ हजार ८ सय ३५ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ७७ जनामा र ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय २ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३ सय ३३ सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा २८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७ सय ५६ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा २ हजार ७ सय ८८ छन्। यसैगरी ५ सय ७१ आइसियूमा र १ सय ६१ जना भेन्टिलेटरमा बसेर उपचार गराइरहेका छन्।
नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २९१ भएको छ । देशभर ३३ लाख ९१ हजार ३७९ नमूनाको पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३ सय २३ जना रहेका छन् । आइसोलेसनमा रहनेको सङ्ख्या २६ हजार ५ सय ४४ छ ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ४३ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३ सय ९०, ललितपुरमा ८७ र भक्तपुरमा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
–––


















