काठमाडौँ,२६ आषाढ । नेपाल र भारत सरकारबीच आज ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ ।
दुई देशका सरकारबीच हिजो शुक्रबार भर्चुअल कार्यक्रममा सो हस्ताक्षर भएको हो । भारतका तर्फकाट भारतीय रेल मन्त्रालय, परिचालन तथा व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहांतीले तथा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले नेतृत्व गर्नुभएको थियो ।
‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षरसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालकलगायत सबै अधिकार प्राप्त कार्गाे रेल सञ्चालक नेपाल आउन सक्नेछन् । कन्टेनरमा भारत र नेपालबीच मालसामान ओसारपसार हुने र तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउने बताइएको छ । यो नयाँ प्रावधानले नेपालको बजार शक्तिको पहुँचलाई विस्तार गर्नाका साथै सामानको ढुवानीलाई थप प्रभावकारी बनाउनेछ ।
यो आदानप्रदानपत्रमा हस्ताक्षरपछि भारतको रेल सञ्जालमा सञ्चालन हुने सबै किसिमका मालवाहक रेलले भारत र नेपालबीच मालसामान ओसारपसार गर्नेछन् । मापदण्ड र प्रक्रियाअनुरुप नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका मालडिब्बाले भारतीय रेल सञ्जाल (कलकत्ता÷हल्दियादेखि विराटनगर÷वीरगञ्ज रुट) मा नेपाल आउने मालसामान बोक्न पाउनेछन् ।
पत्रले भारत–नेपाल रेल सेवा सम्झौताका अन्य थुप्रै पक्षलाई अद्यावधिक गर्नाका साथै भारतीय र नेपाली रेल्वेका परिचालन र पूर्वाधारसम्बन्धी नवीन पक्षलाई पनि समेट्छ । ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत क्षेत्रीय ‘कनेक्टिभिटी’ विस्तार गर्न हेतुले यो प्रयास गरिएको भारतीय दूतावासले जनाएको छ ।
साउनदेखि रेल सञ्चालनमा
यो संझौतासंगै गत असोजमा नेपाल भित्रिएको रेल झन्डै १० महिनापछि साउन महिनाको दोस्रो सातासम्म सञ्चालनमा आउने भएको छ।
भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको भन्दै चौतर्फी रूपमा आलोचना भइरहेका बेला रेल सञ्चालनको अन्तिम तयारीमा जुटेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको हो।
मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले दिनुभएको जानकारी अनुसार रेल सञ्चालनका लागि भारतीय चालक र अन्य नेपाली जनशक्ति लिइएको छ। उनीहरूको तालिम शुक्रवार सकिन्छ।
लामो समयसम्म सञ्चालनमा आउन नसक्दा भौतिक पूर्वाधारमा परेको प्रभावको निवारण गरेर साउन ६ गते भारतीय पक्षबाट रेल सञ्चालनका लागि आवश्यक संरचना नेपालले बुझ्ने तयारी भएको बताइएको छ।
“सबै तयार हुन्छ अनि जुलाई भित्रमा (रेल) चल्छ”, शर्माले भन्नुभयो।
भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन गर्नका लागि नेपालले करिब ८५ करोड रुपैयाँमा भारतबाट रेलको दुई सेट खरिद गरेको हो।
समस्या
नेपाल र भारतमा ओहोरदोहोर गर्ने भनिएको रेल सञ्चालनका लागि जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतको कोनकन रेल्वेज कर्पोरेसनबीच गत महिना सेवा सम्झौता भएको थियो।
सुरुमा नेपालले भारतसँग ‘वेट लिज’ सम्झौता गर्ने तयारी गरेको भए पनि पछि त्यसो हुन नसक्दा सञ्चालनमा समस्या आएको रेल विभागमा काम गरिसकेका विज्ञ प्रकाश उपाध्याय बताउनुभयो।
वेट लिज गर्दा रेल विक्रेता वा भाडामा दिने कम्पनीले खरिदकर्तालाई रेल सहित सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पनि उपलब्ध गराउनुपर्ने हुन्छ।
यसरी खरिद गरिएको रेलको सञ्चालनका बेला गर्नुपर्ने मर्मत सम्भारदेखि अन्य प्रबन्धका काम पनि उसकै रहन्छ।
“सबैलाई हामीसँग रेल सञ्चालन गर्न चाहिने सबै कर्मचारी छैनन् भन्ने थाहा थियो। तिनको व्यवस्थापन पहिलो कुरा हो भन्ने ज्ञान नभएको होइन। तर के हिसाबले त्यसलाई कमजोर आँकियो ? “, उपाध्यायले भन्नुभयो।

रेलमार्ग
वेट लिजमा लिएर रेल सञ्चालन गर्ने र सँगसँगै दुई वर्ष नेपालका जनशक्तिलाई तालिम गराउने गरी भारतीय पक्षसँग कुरा अघि बढाउने तयारी भन्दा विपरीत नयाँ प्रक्रिया सुरु गरिँदा लामो समय त्रिपाल ओढाएर रेल राख्नुपर्ने स्थिति उत्पन्न भएको उहाँले बताउँनुभयो ।
ूरेल नेपालीले नै चलाउने भन्नेमा गयौँ। विभिन्न समस्या उत्पन्न भएपछि हामीले छुट्टै चालक दल लिनुपर्ने रहेछ भन्नेमा गयौँ,ू शर्माले भन्नुभयो।
सरकारका अनुसार रेल सञ्चालनका लागि भाडा लगायत अन्य तयारी लगभग पूरा भइसकेको छ।
३५ किलोमिटर लामो रुटमा न्यूनतम १५ रुपैयाँदेखि ३०० रुपैयाँसम्म भाडा लाग्ने तय भएको बताइएको छ।
यस्ता छन् : नेपालले खरिद गरेको रेलका विशेषता
- मध्यम दूरीका लागि उपयुक्त मानिन्छ।
- प्रतिघण्टा १०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ।
- डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र त्यसबाट रेलमा हुने ट्र्याक्शन मोटर चल्छ।
- ड्राइभिङ पावर कार, ट्रेलर कार र ड्राइभिङ ट्रेलर कार गरी एउटा ट्रेन सेटमा पाँचवटा कार हुन्छन्। अर्थात् बोलीचालीको भाषामा भन्नुपर्दा एउटा ट्रेन सेटमा पाँचवटा डिब्बा छ।
- अगाडि र पछाडि दुईतिर बाटै गुडाउन मिल्ने भएकोले फर्काउनुपर्ने झन्झट हुँदैन ।


















