काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्षको पहिलो दिनमै सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदरको २ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले शुक्रबार भर्चअल पत्रकार सम्मेलनको आयोजना गरी सुपर सेभिङ अकाउण्ट र खुत्रुके खाता आजैदेखि सञ्चालनमा ल्याएको हो ।
सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले भन्दा र आफैले पनि हालसम्म दिएको भन्दाबढी ब्याजदर निर्धारण गर्दै बैंकले १ महिनाको लागि बचत योजना ल्याएको हो ।
बैंकले सुपर सेभिङ एकाउण्टमा बैंकले ६.०१ प्रतिशत र खुत्रुके खाता ७.०१ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।
न्यूनतम २५ हजार रुपैयाँबाट शुरु गर्न सकिने सुपर सेभिङ एकाउण्टमा क्यान्सर लगायत ६ वटा प्राणघातक रोगको बीमा गरिने बैंकले जानकारी दिएको छ ।
यसैगरी, खुत्रुके खाता बैंकले न्यूनतम २ वर्षदेखि १० वर्षसम्मको लागि सञ्चालनमा ल्याएको हो । विषेश गरी कोभिड–१९ को संक्रमण जोखिमलाई ध्यानमा राखेर शुरु गरिएको यो खातामा ग्राहकले चाहेको जुनसुकै समयमा पनि जति पनि रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
सो खाता न्यूनतम ५ सय रुपैयाँदेखि शुरु गर्न सकिन्छ । ग्राहकले खुत्रुके खातामा आफ्नो सहुलियतले अधिकतम सीमासम्म रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।
खाता अवधिभरको लागि बैंकले खातामा जम्मा भएको रकमको ७० प्रतिशत कर्जा लिन पाउने सुविधा समेत प्रदान गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको यी २ वटा बचत खाता योजनाको लाभ साउनको अन्तिमसम्म खाता खोल्नेले पाउने छन् । साउन पश्चात भने बजारको अवस्था अनुसार ब्याजदर परिवर्तन हुने बैंकले जनाएको छ ।
कर्जाको ब्याजदर सिभिल खुत्रुके खातामा प्रदान गरिएको ब्याजदरमा २ प्रतिशत थप गरी वा आधारदरमा जुन बढी हुन आउँछ सोही ब्याजदरमा कर्जा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।