काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।
आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १ सय ६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २ सय ४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो ।
सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।
प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् ।
प्रधानमन्त्री देउवालाई नेकपा एमालेको ओलीसमूहका सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले पनि मत दिनुभएको थियो ।
रापप्रा र मजदूर किसानका सांसदहरु तटस्थ बस्नुभएको थियो ।
गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुभएको थियो ।
संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।
–––


















