Prakash Adhikari July 19, 2021

काठमाडौं, ४ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गर्नुभएको छ ।

सोमबार बिहान जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित विशेष समारोहमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर उहाँले अमेरिकी खोपको शुभारम्भ गर्नुभएको हो ।

सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी हुनुहुन्थ्यो ।

अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीबाट उत्पादित जेन्सिन नामक खोपको १५ लाख ३४ हजार ८ सय ५० डोज नेपाललाई अनुदान सहयोग दिएको थियो ।

उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

 

Share Now

Leave a comment.