काठमाडौं, २ भाद्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले औपचारिक रुपमा विभाजन भएको छ।
एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा उहाँसंग निकटस्थ केन्द्रीय सदस्य तथा सांसदहरुले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
नेपाल समूहको नयाँ दल दर्ता निवेदन दर्ता भएसँगै लामो समयदेखि सघीय संसदमा सबैभन्दा ठुलो दलको रुपमा उदाएको नेकपा एमाले औपचारिक रूपमा विभाजन भएको हो।
नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले मंगलबार बसेको केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको अनुशासन विपरीत आचरण गरेको आरोप लगाउदै वरिष्ठ नेता नेपालसहित १४ जना सांसदहरुलाई साधरण सदस्यताबाट समेत निष्काशन गरिएको जानकारी सहितको पत्र संसद सचिवालयमा दर्ता गराउनु भएपछि नेकपा विभाजनको प्रक्रिया तीव्र रुपमा अगाडि बढेको थियो ।
नयाँ दल दर्ता नगरेको भए संसद सचिवालयले यसबारको सूचना टाँस गर्ने वित्तिकै वरिष्ठ नेता नेपालसहित १४ जनाको सांसद पद जाने थियो । पार्टीको केन्द्रीय समिति र संसदीय दलमा अध्यक्ष ओली भक्तको जमातको दबदबा कायम हुने भएकोले नेता नेपालसहित पार्टीको कारबाहीमा पर्नेहरुको राजनीतिक भविष्य लगभग समाप्त हुने अवस्थामा पुग्ने थियो ।
नेकपा एमाले अध्यक्ष ओलीले मंगलबार केन्द्रीय समितिबाट वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको निर्णय गराउनुपूर्व सोमबार राती पार्टी एकताको लागि बनेको कार्यदलले बुझाएको प्रतिवेदनमा दिइएको सुझाव अनुसार पार्टी सञ्चालन गर्ने वचनबद्धता व्यक्त गर्दै दुई पृष्ठको अपील जारी गर्नुभएको थियो । मंगलबारसम्म नेकपा एमालेका वरिष्ठ नेता नेपाल पनि अध्यक्ष लचिलो भएमा पार्टीभित्र एकता कायम हुने दावी गर्दै आउनुभएको थियो ।
साउन ३२ गते सोमबार संसद अधिवेशन हठात बन्द गरिएपछि दल विभाजनलाई सहज पार्ने अध्यादेश ल्याउने चर्चा चलेको थियो ।
नयाँ पार्टी एमाले समाजवादी
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको केही घण्टमा नै नेपाल समूहका नेताहरूले कान्तीपथस्थित निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो।
नेपाल पक्षका सांसद मेटमणि चौधरीले आफूहरुले निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिएको बताउदै आयोगले अध्ययन गरेर पार्टीको नाम र चुनाव चिन्हको स्वीकृति दिने बताउनुभएको छ ।
माधव नेपाल नेतृत्वको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुला किताब राखिएको छ।
एमाले समाजवादीमा अध्यक्ष माधव नेपाल रहनुभएको छ भने वरिष्ठ नेता झलनाथ खनाल रहनुभएको छ ।
नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहनुभएको छ।
नयाँ पार्टीको केन्द्रीय कार्यसमिति ९५ सदस्यीय रहेको बताइएको छ ।एमाले उपाध्यक्ष वामदेव गौतमलाई अहिले पार्टीको केन्द्रीय समितिमा राखिएको छैन ।
नेपाल पक्षले साविक नेकपा एमालेबाट आफूहरूको पार्टीमा ५८ जना केन्द्रीय सदस्य आएको जानकारी दिएको छ । तर यसको छिनोफानो हुन केही दिन लाग्ने देखिन्छ ।
नयाँ पार्टीको चुनाव चिन्हमा खुला किताब राखिएको छ ।
ध्रुबीकरण बढ्ने
नेकपा एमालेभित्रको हालको लडाई संविधान सभाले २०७२ सालमा निर्माण गरेको बर्तमान संविधानले अंगीकार गरेको र नेपालको लोकतान्त्रिक पद्धतिको मौलिक अनुभवले ग्रहण गरिएको राजनीतिक स्थायित्व अन्तरगत संसद ५ बर्ष चलाएर जनप्रतिनिधिमूलक राज्य व्यवस्थाका माध्यमबाट राज्य सञ्चालन गर्ने कि संविधानलाई तिलाञ्जली दिई हुकुमी शासन चलाउने भन्ने दुई थरी कम्युनिष्ट नेता र कार्यकताबीचको झगडा नै हो ।
२०७४ सालको निर्वाचन पछि सरकारको नेतृत्व सम्हालने मौका पाउनुभएका तात्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले सुरुका दुई बर्ष राजनीतिक स्थायित्व, विकास,समृद्ध नेपाल र सुखी नेपालीको नारा अनुरुप नै काम गर्नुभएको हो । तर त्यसपछिको समय उहाँ बहकिनुभयो । नेकपा एमालेका नेताहरु बालुवाटारमा भारतीय गुप्तचर संस्था(रअ)का प्रमुख सामन्त गोयललाई भेटेपछि तात्कालिन प्रधामन्त्री के.पी. शर्मा ओलीको रोडम्याप बदलियो ।
उहाँ राजनीतिक स्थायित्वको लागि पार्टीलाई सिंगो दुइतिहाई मत आवश्यक परेको भन्दै संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गराएर मध्याबधि निर्वाचन गर्न उद्यत हुनुभयो , त्यो पनि दुई दुईपटक ।
यसैले नेकपा भित्र यो लडाई संविधानसभाले बनाएको संविधान जोगाउने माधव नेपाल पक्ष र यसलाई समुन्नत गर्ने नाममा समाप्त पार्न खोज्ने ओली पक्षको बीचको लडाइएको रुपमा यसलाई ब्याख्या गर्न रुचाइरहेका छन् ।
यो घटनाल नेपालमा राजनीतिक ध्रबीकरणलाई निम्त्याएको देखिन्छ । संविधानको रक्षाको लागि कानूनी लडाइ र सडक संघर्षमा समेत उत्रिन तयार एमालेका कार्यकर्तासहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा एकातिर रहने र यो संविधानलाई असफल बनाउन अग्रसर एमाले अध्यक्ष ओलीका अन्धभक्तहरु, जनता समाजवादी पार्टीभित्रको अल्पसंख्यक महन्थ ठाकुर पक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका नेताहरु अर्को कित्तामा रहने गरी नयाँ ध्रुबीकरण हुनेछ ।


















