काठमाडौं, १९ पौष । आइतबार गठन भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीका सदस्यहरूको पहिलो बैठक आज बस्ने भएको छ ।
आजको बैठकले माओवादीको केन्द्रीय पदाधिकारीको चयन गर्ने बताइएको छ । केन्द्रीय कमिटी समेत सहमतिमा चयन गरेको माओवादीले पदाधिकारी पनि सहमतिमा नै चयन गर्ने संभावना छ ।
आठौं महाधिवेशन अन्तरगत आइतबार नेकपाको स्थायी समिटिले २ सय ३६ सदस्यीय केन्द्रीय कमिटीका सदस्य चयन गरेको थियो । सो नामावली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्द शत्रमा प्रस्तुत गरेपछि सहभागीहरुले ताली बजाएर अनुमोदन गरेका थिए ।
प्रचण्डले खुल्लातर्फ १ सय ३२ र सामानुपातिकतर्फ १ सय २५ जनाको नाम पेश गर्नुभएको थियो ।
बाँकी ६३ जना र विधानले थप गर्न मिल्ने १५ प्रतिशत केन्द्रीय सदस्य चयन गर्नै बाँकी छ ।
पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर महराका अनुसार आज बस्ने केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन गरिनेछ। आज अपरान्ह ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ।
बैठक सानेपा हाइटस्थित एक ब्यांकेटमा बस्ने भएको छ । पार्टी कार्यालयको हलमा सबै सदस्य अटाउन समस्या भएकोले ब्यांक्वेटमा बैठक राखिएको बताइएको छ ।
माओवादीको आठौं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिइएको थियो।
पार्टीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षगरी १५ जना पदाधिकारी रहने व्यवव्स्था छ।


















