Prakash Adhikari January 26, 2022

शरण्या ऋषिकेश / बीबीसी न्यूज

नयाँदिल्ली (भारत), १२ माघ । भारतको ७३ औँ गणतन्त्र दिवसको एक दिनअघि सरकारी अधिकारीहरूले एउटा असामान्य स्पष्टीकरण जारी गरे, “यस वर्षको परेडमा बलीवुडको गीत प्रस्तुत गरिनेछैन।”

वास्तवमा उक्त परेडमा कहिल्यै बलीवुड म्यूजिक ट्र्याक समावेश गरिएको छैन। तर हालैको एउटा विवादका कारण सरकारले त्यस्तो स्पष्टीकरण दिनुपर्ने बाध्यता अनुभूति गरेको हो।

भारत सरकारसँग सम्बद्ध एउटा आधिकारिक ट्विटर ह्यान्डलबाट एउटा भिडिओ साझा गरिएको थियो। उक्त भिडिओ गणतन्त्र दिवसका दिन हुने भव्य वार्षिक परेडको बेलाको जस्तो देखिन्छ र त्यसमा जलसेनाको एउटा टुकडीले लोकप्रिय बलीवुड गीतको सङ्गीत बजाएको र गाएको सुनिन्छ।

उक्त सङ्गीतको तालमा सैनिकहरूले बन्दुक उठाएर त्यसमा ताली बजाएको र खुट्टा मर्काएको देखिन्छ। उक्त भिडिओले सामाजिक सञ्जालमा विवाद उत्पन्न गराइदियो।

कतिपय विपक्षी नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सैन्य बलको गरिमालाई कमजोर बनाएको आरोप लगाए भने अन्यले भिडिओले प्रतिष्ठित उत्सवको उपहास गरेको बताए।

उक्त भिडिओ साझा गर्ने विभागले अन्तत: सैन्य ब्यान्डका कर्मचारीहरूले परेडका लागि गरिएको अभ्यासका क्रममा कसरी केही समय विश्राम लिए भन्ने देखाउन उक्त भिडिओ पोस्ट गरेको बतायो।

Republic Day Parade 2019: India's rich cultural diversity on display at  Rajpath; 10 points | India News,The Indian Express

तर उक्त विवाद यस वर्ष भएका त्यस्ता धेरै विवादमध्येको एउटा मात्र हो। अनि त्यसले उक्त परेड हेर्न चाहने लाखौँ भारतीयको चाहनालाई कम गर्नेछैन।

त्यस्तो परेड राजधानी दिल्लीको मुख्य स्थलमा हुनेछ र देशभरि प्रत्यक्ष प्रसारण हुनेछ। प्रत्येक वर्ष भारतले जनवरी २६ मा गणतन्त्र दिवस मनाउँछ।

उक्त दिन भारतमा संविधान लागु भएको थियो र त्यसै दिनदेखि भारत एउटा सार्वभौम गणतन्त्र बनेको थियो। देशको सैन्य शक्ति, प्राविधिक विकास र सांस्कृतिक विविधता झल्काउने दिनका रूपमा उसले त्यसलाई मनाउँछ।

सन् १९५६ को परेड

सन् १९५६ को परेड

ब्रिटिश साम्राज्यसँग सम्बन्धविच्छेद गरेको दिन

सन् १९५० मा उक्त दिन भारतले ब्रिटिश साम्राज्यसँगको सम्बन्ध भङ्ग गरेको थियो र गणतन्त्र भारतका पहिला राष्ट्रपति राजेन्द्र प्रसादले शपथग्रहण गर्नुभएको थियो।

यद्यपि भारतले धेरै बहसपछि कमनवेल्थ अफ नेशन्समा सहभागी हुने निर्णय गरेको थियो।

इतिहासकार रामचन्द्र गुहाले आफ्नो पुस्तक ‘इन्डिया आफ्टर गान्धी’मा पहिलो पटक भएको त्यस्तो परेडको बारेमा लेख्नुभएको छ, “सशस्त्र बलका तीन हजार जनाले राष्ट्रपतिको अगाडि मार्च गरे। आर्टिलरीले ३१ तोपको सलामी दिए भने भारतीय वायुसेनाका लिबरेटर विमानहरू माथिबाट उडेका थिए।”

त्यसपछिको अर्को वर्षको परेड भने एकदमै फरक रहेको सुचित्रा बालसुब्रह्मण्यनले टिप्पणी गर्नुभएको छ।

उक्त परेडलाई रङ्गशालाबाट राजपथमा सारियो। त्यहाँ “राज्यका प्रतीकहरूले भरिएको परिदृश्य” देखिन्थ्यो।

“नयाँ स्थानमा उक्त गणतन्त्र दिवस मनाउने कुरालाई रमिताका रूपमा लिन थालियो”, बालसुब्रह्मण्यनले भन्नुभयो।

त्यसपछि सङ्घीय सरकारले राज्यहरूलाई सांस्कृतिक प्रतियोगितामा भाग लिन आमन्त्रित गर्‍यो। त्यो परेडको पनि एउटा भाग हुने गर्छ।

“त्यो तनावपूर्ण अवधि थियो। त्यस बेला आफ्नो उपस्थिति महसुस गराउन भाषिक र क्षेत्रीय दाबीले स्थान पाउँदै थियो”, बालसुब्रह्मण्यनले लेख्नुभएको छ।

उहाँका भनाइमा उक्त परेड विविधतायुक्त तर एकताबद्ध देश देखाउने एउटा प्रतीक बन्न पुग्यो।

परेड

परेडमा राज्यहरूको सहभागिता
बालसुब्रह्मण्यनका अनुसार परेड ‘एउटा व्यावहारिक र एकतायुक्त राष्ट्रिय पहिचानको छवि प्रस्तुत गर्ने महत्त्वपूर्ण माध्यम’ बन्यो।

सङ्घीय सरकारले हिन्दीलाई एक मात्र आधिकारिक भाषा बनाउने प्रयास गर्दा सन् १९५० दशकको उत्तरार्ध र १९६० दशकको प्रारम्भमा भाषा एउटा विशेष विवाद र आक्रोशको विषय थियो।

उक्त निर्णयले दक्षिणी राज्यहरूमा अभूतपूर्व विरोधको सामना गर्नुपर्‍यो। ती क्षेत्रको भाषा र लिपिहरू हिन्दीभन्दा पूर्ण रूपमा भिन्न थिए।

त्यस्तो प्रतिरोध तमिलनाडुमा सबैभन्दा बलियो थियो। त्यहाँ द्रविड मुन्नेत्र कडगम पार्टीले ठूलो विरोध प्रदर्शनको नेतृत्व गर्‍यो।

उसले हिन्दी भाषाका पुस्तकहरू जलायो र हिन्दीमा लेखिएका स्थान र वस्तुमा कालो पोतिदियो।

उक्त राज्यको राजधानी चेन्नईमा दुई प्रदर्शनकारीले आत्मदाह गरेपछि सरकारले सन् १९६५ ज्यनुअरी २६ मा भाषासम्बन्धी उक्त निर्णयलाई हटायो।

राज्यहरूले सामान्यत: आफ्ना सांस्कृतिक वा ऐतिहासिक महत्त्वका कुराहरूलाई प्रचार गर्न चाहन्थे।

त्यस्ता कुराहरू समेटेर उनीहरूले फ्लोटहरू वा झलकहरू परेडमा पठाउन थालेपछि परेड लामो र अझ बढी रङ्गीन बन्न पुग्यो।

दिल्लीको शक्तीकेन्द्रबाट टाढा बस्नेका लागि अझै पनि परेडमा आफ्नो राज्यको योगदान देखिनु रोमाञ्चक लाग्छ।

अहिले परेडमा कृषि र विज्ञान तथा प्रविधिमा भारतले गरेका उपलब्धिका नमुनाहरू देखाउँदै धेरै सरकारी विभाग पनि सामेल हुन थालेका छन्।

Republic Day 2020: Here

 

कूटनीतिक महत्त्व
इतिहासकार श्रीनाथ राघवनका भनाइमा परेड मुख्यत : भारतीयहरूका लागि एउटा प्रतीकात्मक विषय थियो। त्यसले शक्तिशाली गणतन्त्रको हिस्साका रूपमा उनीहरूको पहिचानलाई बलियो बनायो।

ब्रिटिश साम्राज्यवादी शक्तिद्वारा प्रदर्शन गरिएका भव्य स्वागत कार्यक्रम र उत्सवहरूबाट प्रेरणा लिएर परेड सुरु गरिएको थियो। ब्रिटिशहरूले गर्ने त्यस्ता प्रदर्शनबारे भारतीयहरू पहिले नै परिचित थिए।

भारतको क्षमताबारे बाँकी विश्वलाई सन्देश पठाउने लक्ष्य समेत परेडले राखेको राघवनले बताउनुभयो।

सन् १९५० मा इन्डोनेशियाका राष्ट्रपति सुकार्नोबाट सुरु गरेर भारतले परेडमा सधैँ एक विदेशी विशिष्ट व्यक्तिलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गरेको छ।

यद्यपि कोभिड १९ महामारीका कारण २०२१ देखि त्यस्तो कार्य निकै कठिन भएको छ।

सन् २०१५ मा अमेरिकी राष्ट्रपति बराक ओमामा परेडमा सहभागी भएका थिए

सन् २०१५ मा अमेरिकी राष्ट्रपति बराक ओमामा परेडमा सहभागी हुनुभएको थियो ।

प्रमुख अतिथिहरूको सूचीले देशको वर्षौंदेखिको कूटनीतिक सम्बन्धलाई पनि झल्काउँछ।

भारतले पछिल्लो पटक सन् १९६५ मा पाकिस्तानी प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो।

त्यो भनेको उक्त देशसँग भएका पछिल्ला तीनवटा युद्धभन्दा अघि हो।

भारत र चीनबीच सीमायुद्ध हुनभन्दा चार वर्षअघि सन् १९५८ मा चिनियाँ कम्युनिस्ट पार्टीका एकजना दिग्गज व्यक्तित्व मार्शल ये जियान्यिङ प्रमुख अतिथि हुनुहुन्थ्यो।

यदि सन् २०२१ मा बोरिस जोनसन उपस्थित भएका भए उहाँ परेडमा सहभागी भएका छैटौँ ब्रिटिश नेता हुनुहुन्थ्यो।

बराक ओबामा परेडमा सहभागी हुने पहिलो अमेरिकी राष्ट्रपति बन्नुभयो। उहाँले सन् २०१५ मा त्यस्तो मौका पाउनुभयो।

ओबामाको उपस्थिति शीत युद्धको अन्त्यपछि भारत र अमेरिकाबीच सम्बन्धमा कति सुधार आयो भन्ने प्रमाण पनि हो।

भारतीय सञ्चारमाध्यमले त्यसलाई आफ्नो कार्यकालको पहिलो वर्षमा प्रधानमन्त्री मोदीका लागि ‘कूटनीतिक कूू’ भनेका थिए।

“ओबामाले यस वर्ष मोदीको निमन्त्रणा स्वीकार गर्नुलाई उनले भारतलाई ठूलो सम्मान दिएका रूपमा हेरिएको छ, यो देशको विश्व मञ्चमा आगमनको सङ्केत हो”, द न्यूयोर्क टाइम्सले लेखेको थियो।

महामारीका कारण पछिल्ला दुई वर्षमा उत्सवहरू घटाइए पनि परेडमा सहभागी हुनका लागि छनोट हुनु भारतीय राज्यहरू र सैन्य रेजिमेन्टहरूका लागि गर्वको विषय बनेको छ।

राघवन भन्नुहुन्छ, “राज्यहरूका निम्ति यो उनीहरूको भूमिकालाई स्वीकार्य बनाउने र उपलब्धिहरूलाई देशका अन्य संरचनाबाट मान्यता दिलाउने एउटा तरिका पनि हो।”

 

 

Share Now

Leave a comment.