काठमाण्डौ,२८ फागुन । नेपाल बैंकर्स संघ र एनआइसी एशिया बैंकबीचमा ब्याजदर निर्धारणको सम्बन्धमा उठेको विवादको समाधान खोज्न भित्रभित्रै पहल भएको छ ।
आइतबार बसेको नेपाल बैंकर्स संघको बैठकले एनआईसी एशियासंगको अन्तरबैंकिंड. कारोबार बन्द गर्ने कार्यसमितिको निर्णयलाई पारित गरेपनि एनआईसी एशियाका तर्फबाट यो प्रकरणलाई सञ्चारमाध्यममार्फत नचर्काउन र आपसी समझदारीमा समाधान गर्न गरेको अनुरोधलाई भने सकारात्मक रुपमा ग्रहण गरेको छ ।
एनआइसी एशिया बैंकले साधारण बचतमा १० र मुद्धती बचतमा १२ प्रतिशत ब्याज दिने भनी गरेको निर्णयले आफूहरुबीचको भद्र सहमति तोडिएको भन्दै नेपाल बैंकर्स संघको शुक्रबार बिहान बसेको आकस्मिक बैठकले एनआइसीलाई २७ वटा वाणिज्य बैंकसँगको अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेपछि चर्किएको थियो ।
संघको आइतबारको बैठकले सहमतिका लागि भएका प्रयासको ठोस निश्कर्ष ननिस्किएसम्म अन्तरबैंक कारोबार रोक्ने निर्णयलाई भने निरन्तरता दिने निर्णय गरेको छ ।यसले एनआईसी एशियालाई निर्णयमा पुनर्विचार गर्न दवाव पर्ने संघको ठम्याई रहेको छ ।
संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले दुवै पक्षले मिडियाबाजी नगर्ने भनी बैंकको तर्फबाट गरिएको अनुरोधलाई आफूहरुले सकारात्मक रुपमा लिएको प्रष्ट पारेका छन् । ‘उसले मलाई केही समय चाहियो, सहमतिमा आउँछु भनी पत्र लेखेको छ र यसलाई संघले सकारात्मक रुपमा लिएको छ’, ढुंगानाले भने । उनले सहमतिको वातावरण बन्दै गएकोले अवस्था सकारात्मक रहेको समेत प्रष्ट पारे ।
एनआइसी एशिया बैंकका प्रवक्ता सुधिर पाण्डेले यस प्रकरणले संवेदनशील बैकिङ उद्योगकै लागि अप्ठ्यारो परिस्थिति सिर्जना भएको र यसले निक्षेपकर्ता तथा ग्राहकहरुको मनस्थितिमा नकारात्मक असर परी समग्र उद्योगलाई नै धराशायी बनाउनसक्ने निश्कर्ष निकाल्दै आफूहरुले एनबिएलाई केही दिनसम्म मिडियाबाजी नगरिदिन र मौन बसिदिन आग्रह गरेको प्रष्ट पारे ।
‘एकआपसमा लड्नुु र भिड्नू ठीक हुँदैन, त्यही भएर एकदुुई दिन जे छ, त्यही अवस्थामा राखौं भनेर हामीले अनुरोध गरेका हौ ’ प्रवक्ता पाण्डेले भने,‘दुुईचार दिनपछि यो इस्यूूमा आपसमा बसेर कुरा गरी सहमति निकाल्नुुपर्छ भन्ने हाम्रो कुरा हो ।’
उनले यो बीचमा वार्तालाई समेत जारी राख्ने र एउटा सहमति निकाल्ने दुुई पक्षबीच प्रारम्भिक सहमति भएको समेत प्रष्ट पारे ।
यो बीचमा कसैले कसैको बिषयमा कमेन्ट नगर्ने सहमति भएको उल्लेख गर्दै पब्लिक सेन्टिमेन्टलाई भड्काउने हिसाबले समाचार सामाग्रीहरु प्रकाशन नगरिदिन समेत संचारमाध्यमहरुलाई आग्रह गरेका छन् ।
विकास बैंकर्स पनि चिन्तित
बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था र वाणिज्य बैंकका बीचमा ब्याजदर निर्धारणमा देखा परेको मतभेदबाट समग्र अर्थव्यवस्थालाई असर
पर्ने निश्कर्ष निकाल्दै नेपालका विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन पनि यसमा मध्यस्तको भूमिका निर्वाह गर्न अग्रसर देखिएको छ । संघको आइतबार दिउँसो बसेको बैठकले एनआइसी एशिया बैंकलाई ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन अनौपचारिक रुपमा आग्रह गर्ने निर्णय गरेको छ ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसनले अनौपचारिक रुपमा एनआइसी एशियालाई ब्याजदर बढाउने निर्णय फिर्ता लिन आग्रह गर्नेछ । एशोसियसनले ‘एकदुुई दिन हेर्ने, त्यसपछि पनि सो निर्णय नसच्चिएमा बैंकलाई विकास बैंकहरुले पनि असहयोग गर्नसक्ने र उसँगै कुनै पनि खालको कारोबार नगर्नेसम्मको निर्णय गर्ने मनस्थिति बनाएर बसेको छ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसनले पनि नेपाल बैंकर्स संघले झै केही दिनअघि साधारण बचत खातामा न्यूनतम साढे ७ प्रतिशत र मुद्धती बचमा १२ प्रतिशतसम्म ब्याजदर दिने भद्र सहमति गरेको थियो ।
एनबिएको सहमतिलाई आधार बनाउँदै विकास बैंकरहरुले यो निर्णय गरेका थिए । बाणिज्य बैंकहरुमा संघको सहमति तोडिने अवस्था आएकोले त्यस्तो रोग विकास बैंकमा सरेमा त्यसले अरु समस्या निम्त्याउने भय बिकास बैंकलाई छ ।
विकास बैंकहरुले एनबिए र एनआइसी एशिया बैंकबीचको तानातानले समग्र बैकिङ उद्योगमा नकारात्मक सन्देश जाने काम भएको भन्दै यो समस्याको शीघ्र समाधान निकाल्न समेत जोड दिएका छन् ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष भरत ढकालले एनआइसी एशिया बैंकलाई अप्ठ्यारो परेको बेला उसलाई असहयोग नहुने गरी समाधान खोज्नुपर्ने आवश्यकता औल्याए ।
कुनै बैंक विशेषसँग अर्को कुनै बैंक विशेषले कारोबार गर्ने वा नगर्ने भन्ने बिषय नितान्त निजी भएको उल्लेख गर्दै उनले सबैले सहयोग गरेर समस्याको निराकरण खोज्नुपर्नेमा जोड दिए ।