Prakash Adhikari March 11, 2018

पेन्सिलयभेनिया(संयुक्त राज्य अमेरिका),२७ फागुन (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको विवादास्पद कर घोषणाले अमेरिकी स्टिल उद्योगहरूलाई नयाँ जीवन दिने बताएका छन्।

उनले उत्तर कोरियाली नेता किम जङ अनसँग वार्ता गर्ने आफ्नो योजनाको बचाउ गर्दै उत्तर कोरियालीहरूले शान्ति कायम गर्न चाहेको आफूलाई लागेको पनि जनाएका छन्।

स्टिल उत्पादन हुने एउटा प्रमुख राज्य पेन्सिलभेनियामा एउटा चुनावी र्‍यालीमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।

उक्त र्‍याली जोखिममा परेको देखिने एउटा संसदको सिटमा रिपब्लिकन दलका उम्मेदवारलाई जिताउने प्रयासमा आयोजना गरिएको हो।

प्रतिस्पर्धा

सन् २०१६ मा ट्रम्प उक्त क्षेत्रबाट सहजै विजयी भएका थिए तर सर्वेक्षणहरूले उनका सहकर्मी रिक सकोनीलाई मंगलवार हुन लागेको हाउस अफ रिप्रिजेन्टेटिभस्‌को सदस्यको चुनावमा डेमोक्र्याट उम्मेदवार कोनोर ल्याम्बले कडा टक्कर दिने देखाएका छन्।

यौन प्रकरणलाई लिएर गएको अक्टोबरमा रिपब्लिकन सिनेटर टिम मर्फीले राजीनामा दिएपछि यो विशेष चुनाव हुन लागेको हो।

र्‍यालीमा सम्बोधन गर्दै ट्रम्पले अघिल्लो महिना अमेरिकी अर्थतन्त्रले ३ लाख १३ हजार रोजगारी श्रृजना गराएको भन्दै आफ्नो नीतिहरूले काम गरिरहेको बताए।


साथै स्टीलमा २५ प्रतिशत कर लगाउने घोषणाले पेन्सिलभेनियाको अर्थतन्त्रलाई बलियो बनाउने पनि धारणा राखे।

परीक्षण
रिपब्लिकन उम्मेद्वार सकोनीले भने, “ट्रम्प प्रशासनको मजबुत एजेन्डाहरूले यहाँ पश्चिम पेन्सिलभेनियामा नतिजाहरू दिइरहेको छ अहिलेसम्म मध्यम वर्गका मानिसले तिर्नुपर्ने करमा कटौती गरिएको छ, अर्थतन्त्र बढेको छ, सीमा सुरक्षा बलियो भएको छ र हाम्रो देश सही दिशामा अघि बढिरहेको छ।”

मंगलवार हुने चुनावलाई ट्रम्पको प्रतिष्ठासँग जोडेर पनि हेरिएको छ।

सकोनी पराजित भए त्यो सन् २०१७ को ज्यानुअरीमा ट्रम्पले ह्वाइट हाउस सम्हालेयता रिपब्लिकनहरूले हाउस अफ रेप्रिजेन्टेटिभ्स‌्को सदस्यमा व्यहोरेको पहिलो हार हुनेछ।

संसदको उक्त च्याम्बरमा रिपब्लिकनहरूको नियन्त्रणलाई भने त्यसले खासै प्रयास पार्नेछैन।

चुनावी प्रतिस्पर्धालाई आगामी मध्यावधि चुनावमा दुवै सदनमा नियन्त्रण कायम राखिराख्ने ट्रम्पको प्रयासको परीक्षणका रूपमा पनि हेरिएको छ।

Share Now

Leave a comment.