फणीन्द्र दाहाल /बीबीसी न्यूज नेपाली
काठमाडौं, ११ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल र चीन दुवैतर्फ मौसमबारे तथ्याङ्क सङ्कलन गर्ने उपकरणहरू जडान गरिएका विवरण आएपछि एक नेपाली अधिकारीले यस्ता प्रयासमा क्षेत्रीय साझेदारी हुनुपर्ने बताएका छन्।
जल तथा मौसम विज्ञानका महानिर्देशक कमलराम जोशीले चीन र अन्य देशहरूसँग मिलेर मौसम मापन उपकरणहरू सगरमाथामा जडान गर्नुपर्ने धारणा नेपालले राखेको बताउनुभएको छ ।
केही दिनअघि अमेरिकाको न्याश्नल जीओग्राफिक सोसाइटीसहित दुईवटा नेपाली निकायले मिलेर अघि बढाएको अभियानअन्तर्गत सगरमाथामा ८,८०० मिटरभन्दा माथि उपकरण स्थापना गरिएको विवरणहरू आएका थिए।
मे महिनाको सुरुमा चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्समा चिनियाँ वैज्ञानिक पर्वतारोहण दल ८,००० मिटरमा यस्तै उपकरण जडान गर्न सफल भएको समाचार प्रकाशित गरेको थियो।
नेपालतर्फको अभियानमा को को ?
महानिर्देशक जोशीका अनुसार नेपालको दलले ठ्याक्कै कुन उचाइमा उपकरण राखेको हो भन्नेबारे निर्क्योल गर्न बाँकी नै छ।
जोशीले भने, “हामी छलफलमा नै छौँ। यसअघि हामीले करिब ८,४०० मिटर उचाइमा रहेको बाल्कोनी भनिने स्थानमा त्यस्ता उपकरण राखेका थियौँ।”
“अहिले ८,८०० मिटरभन्दा माथिको उचाइमा राखिएको जानकारी आएको छ। सम्भवतः अर्को हप्तासम्म हामी यसबारे ठोस जानकारी दिन सक्छौँ।”
न्याटजीओ र जल तथा मौसम विभागले संयुक्त रूपमा ती उपकरण जडान गरिएका उचाइबारे घोषणा गर्ने बताइएको छ। तर ुविशप रकु भनिने ८,८१० मिटरमा अवस्थित स्थानमा ती उपकरण जडान गरिएको बताइएको छ।
जलवायु वैज्ञानिक तथा अमेरिकाको अपलाचन स्टेट यूनिभर्सिटीअन्तर्गत रहेको डिपार्टमन्ट अफ जीओग्राफी एन्ड प्लानिङका प्राध्यापक डा. बेकर पेरी, जलवायु वैज्ञानिक टम म्याथ्यूज र नेपाली वैज्ञानिक अरविन्द्र खड्का सहितको टोली अभियानमा संलग्न थियो।
विभागका तीन जना र त्रिभुवन विश्वविद्यालयका अर्का एक सदस्यले उक्त टोलीलाई सहयोग गरेका थिए।

चीनपट्टि रहेको एउटा स्वचालित वेदर स्टेशनको मर्मत गर्दै एक चिनियाँ प्राविधिक
चीनको एकल प्रयास
यसअघि तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गरेका १३ सदस्यीय चिनियाँ टोलीले ८,८०० मिटरमा मौसमसम्बन्धी उपकरणहरू जडान गरेको थियो।
ग्लोबल टाइम्सले त्यसलाई हालसम्मकै सर्वाधिक उचाइमा अवस्थित मौसम मापन यन्त्रहरू भएको उल्लेख गरेको थियो।
उसको विवरण अनुसार अहिले चीनसँग सगरमाथाको आफ्नो क्षेत्रमा ५,२०० मिटरदेखि ८,८०० मिटरको उचाइमा आठ वटा मौसम स्टेशनहरू छन्।
तर त्यसबारे आफूहरूलाई आधिकारिक रूपमा कुनै जानकारी नभएको नेपाली अधिकारीहरू बताउँछन्।
“हामीले क्षेत्रीय रूपमा नै यस्ता प्रयासहरू अघि बढाइनुपर्छ भन्दै आएका छौँ।”, महानिर्देशक जोशी भन्नुहुन्छ, “अहिले नेपालतर्फ सगरमाथामा पाँच वटा स्टेसनहरू छन्। चीनले आफ्नो तर्फमा आठ वटा राखिएको बताएको छ। त्यति स्टेसनहरू त्यहाँ चाहिन्छन् कि चाहिँदैनन्रु हामी सबै मिलेर गरेको भए खर्च पनि कम लाग्ने थियो।”
उहाँले थप्नुभयो, “हाम्रो प्रयास तीनै पक्ष मिलेर यस्ता कामहरू अघि बढाऔँ भन्ने छ। उहाँहरूका तर्फबाट गरिएका प्रयासबारे हामीलाई जानकारी छैन।”
उपकरण जडान गर्न कति समय
नेपालतर्फ सन् २०१९ मा ८,४३० मिटरमा, ७,९४५ मिटरमा, ६,४६४ मिटरमा, ५,३१५ मिटरमा र ३,८१० मिटरमा रहेको फोर्त्से क्षेत्रमा स्वचालित मौसम मापन उपकरण जडान गरिएका जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हिम सर्भे तथा हिमताल महाशाखाका प्रमुख एवं वरिष्ठ हाइड्रोलोजिस्ट सुवास तुलाधरले बताउनुभयो।
“त्यहाँ रहेको सबैभन्दा माथिको उपकरण हावाले गर्दा उडायो। त्यो छ महिनामात्रै त्यहाँ रह्यो” ,उहाँले भन्नुभयो,”अर्को साउथ कोलबाट पनि तथ्याङ्कहरू प्राप्त भइरहेको थिएन। अहिले आरोहण गरेको टोलीले त्यसलाई मर्मत पनि गरेको छ।”
तुलाधरले यसपालि चुचुरोनजिकै जडान गरिएका उपकरण बलियो भएको बताए।
उहााले भन्नुुभयो, “तापक्रमसम्बन्धी सेन्सर, आर्द्रता र सौर्य विकिरणसम्बन्धी तथ्याङ्क लिने गरिन्छ। ती चरम मौसमको सामना गर्ने सामर्थ्य भएको अमेरिकी उपकरणहरू हुन्।”
उहाँले यसअघि हावाले उडाएको विषयलाई ध्यान दिँदै बलियो खालका ‘सेन्सर र सपोर्ट स्ट्यान्ड’हरू जडान गरिएको बताउनुभयो।
अभियानमा सहभागी तुलाधर भन्नुहुन्छ, “पेचहरू र तारहरू कसेर लगभग १० मिनेटभित्रै ती सामग्रीहरू जोड्न सकिने बनाइएको थियो। त्यही भएर धेरै समय लागेन।”
ती उपकरणको प्रयोगका लागि नेपालको तर्फबाट जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ हाइड्रोलोजी र मेट्रोलोजीले पनि हस्ताक्षर गरेका छन्।
समझदारीमा प्राप्त तथ्याङ्कहरूले विश्लेषण गरी संयुक्त रूपमा प्रकाशनहरू गर्ने, उपकरणहरूको मर्मत र क्षमता अभिवृद्धिमा सघाउने प्रतिबद्धता जनाइएका छन्।
सन् २०२६ को डिसेम्बरपछि ती पूर्वाधार नेपाल सरकारको नै हुने भनिएको बताइन्छ।
उपकरण राख्दा फाइदा
अत्याधुनिक उपकरणको जडानबाट हिमालय क्षेत्रको मौसमसम्बन्धी जानकारी हासिल गर्न सघाउ पुग्ने ठानिएको छ।
महानिर्देशक जोशीले भन्नुभयो, “यसबाट खासगरी जलवायु परिवर्तनका असरहरू थप बुझ्न मद्दत पुग्छ।”

सगरमाथा
“विगतमा कसैले पनि हिमालय क्षेत्रको मौसमबारे यति उचाइमा उपकरणहरू राखेर जानकारी सङ्कलन गरेको थिएन। अब हामी विज्ञानमा आधारित विश्लेषण गरी प्रमाणिक अनुसन्धानहरू गर्न सक्छौँ र परिणामहरू दिन सक्छौँ।”
उहाँका अनुसार ती उपकरणका तथ्याङ्क न्याटजिओको अमेरिकास्थित कार्यालय र नेपालको जल तथा मौसम विज्ञान विभागमा तत्काल हेर्न सकिन्छ।
विभागकी सिनियर डिभिजनल मेट्रोलोजिष्ट इन्दिरा कँडेलका अनुसार विभिन्न किसिमका मौसमसम्बन्धी जानकारीहरूको सङ्कलन तथा जलवायु परिवर्तनका असरबारे अध्ययन गर्न ती उपकरण सहयोगी हुन्छन्।
“हामीलाई वायुमण्डलको माथिल्लो तहको तथ्याङ्कहरू चाहिन्छ। आठ किलोमिटर वा त्योभन्दा माथि सम्मको हामीलाई वास्तविक समयको तथ्याङ्क आउन सक्यो भने मौसम पूर्वानुमानका लागि एकदमै राम्रो हुन्छ।,” कँडेल थप्नुहुन्छ, “अझ मौसमको सही जानकारीले सगरमाथा चढ्ने आरोहीहरूको ज्यान जोगाउन सक्छ।”
उहाँले हिमालय क्षेत्रको मौसमबारे धेरै अन्वेषण नभएको भन्दै त्यहाँको सूचना महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
उहाँ थप्नुहुन्छ, “माथि ठूलो वर्षा भइरहेको छ भने त्यो बगेर तल नै आउने हो। त्यही भएर बाढी जस्ता विपद्को चेतावनी दिएर पूर्वसावधानीको उपाय अपनाउन अनुरोध गर्न सकिन्छ।”
तर जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विज्ञहरूले मौसमसम्बन्धी सूचना सङ्कलन गर्ने संयन्त्रहरू खडा गर्ने विषयलाई प्रतिष्ठा र प्रतिस्पर्धा बनाइन नहुने ठान्छन्।
उनीहरूका भनाइमा त्यस्ता पूर्वाधारबाट सङ्कलन गरिएका विवरण विश्व समुदायसमक्ष प्रस्तुत गर्नु महत्त्वपूर्ण हो किनभने तिनले जलवायु परिवर्तनका असर र विभिन्न विपद्बाट जोगिन सघाउन सक्छन्।
सगरमाथाबारे नेपाल र चीन
सैद्धान्तिक रूपमा सगरमाथामा मिलेर वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने प्रतिबद्धता नेपाल र चीनले व्यक्त गरेका छन्।
राष्ट्रपति सी जिनपिङ सन् २०१९ को अक्टोबरमा नेपालको भ्रमणमा आउँदा काठमाण्डू र बेइजिङले सगरमाथालाई मित्रताको प्रतीकका रूपमा घोषणा गर्दै दुवै देशले विश्वको सर्वोच्च शिखरमा संयुक्त रूपमा अनुसन्धानहरू अघि बढाउने बताएका थिए।
त्यसपछि सगरमाथाको उचाइ घोषणा गर्ने नेपालको एकल प्रयासमा चीनलाई सामेल गराइएको थियो।
सन् २०२० मा नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ ८,८४८.८६ मिटर रहेको घोषणा गरेका थिए।
तर त्यसयता सगरमाथालाई लिएर काठमाडौं र बेइजिङले नयाँ क्षेत्र पहिल्याएर सहकार्य गरिसकेको देखिँदैन।
एक समयमा नेपाल र चीन दुवैले सगरमाथा आफ्नो भएको दाबी गरेका भए पनि पछि उक्त विषयलाई शान्तिपूर्ण रूपमा हल गरेर दुवै देशले सीमा सम्झौतामा हस्ताक्षर गरेका थिए।


















