काठमाडौं, १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई ठेगान लगाइदिने ध्वास दिनुभएको छ ।
माओवादीबाट देशभरका पालिकामा जितेका प्रमुख र उपप्रमुखहरुलाई काठमाडौंमा बुधबार प्रशिक्षण दिने क्रममा उहाँले यस्तो ध्वास दिनुभएको हो । माओवादीको प्रशिक्षणमा २ सय ४९ जना प्रतिनिधिहरू सहभागी छन् ।
“कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौँ। अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन ख्याल गरे हुन्छ”, प्रचण्डले बुझेर वा नबुझेर भन्नुभएको थियो, “कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ। हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौँ।”
उहाँले सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलको गठबन्धन बैठकमा आफू र नारायणकाजी श्रेष्ठले यसबारे गम्भीरतापूर्वक कुरा राखिदिएको पनि बताउनुभयो।
“हामीले बालुवाटारको गठबन्धन बैठकमा गम्भीर ढंगले यसबारे कुरा उठाइदिएका छौँ। यो गठबन्धनलाई लिएर जाने नै हो। तर कांग्रेसमा अहंकार नआओस्”, उहाँले भन्नुभयो, “माओवादीलाई तह लाउने भनेर कांग्रेसले घमण्ड नदेखाओस्। अहिले हामीले जितेका १ सय २१ पालिका अब हाम्रा आधार इलाका हुनुपर्यो।”
उहाँले स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै जित्ने कुरा आफूलाई थाहा भएको पनि बताउनुभयो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि यो गठबन्धनलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म लैजान आफू तयार रहेको पनि बताउनुभयो।


















