Prakash Adhikari July 20, 2022

कोलम्बो(श्रीलंका), ४ श्रावण(बीबीसी) । देश चरम आर्थिक सङ्कटमा फसेपछि सुरु भएको विरोधप्रदर्शनका कारण पदासीन राष्ट्रपतिले भागेर विदेशबाट राजीनामा दिएपछि बुधवार श्रीलङ्काको संसद्‌मा नयाँ राष्ट्रपति छान्न मतदान हुन लागेको छ।

अन्तरिम नेता नियुक्त प्रधानमन्त्री रनिल विक्रमसिङ्घ पनि राष्ट्रपतिको प्रतिस्पर्धामा हुनुहुन्छ। उहाँलाई सत्तारूढ दलले उम्मेदवार बनाएको हो।

राजपक्षसँग निकटता भएको भन्दै प्रदर्शनकारीहरूले विक्रमसिङ्घको पनि बहिर्गमन चाहेका छन्।

प्रधानमन्त्री विक्रमसिङ्घलाई प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमले कडा चुनौती दिनुभएको छ। उहाँ सत्तारूढ दलका विद्रोही सांसद हुनुहुन्छ।

संसद्‌बाट राष्ट्रपति निर्वाचित उम्मेदवारको पदावधि सन् २०२४ नोभेम्बरसम्म कायम रहनेछ।

श्रीलङ्का टाट पल्टने अवस्थामा पुगेको छ। आयात र आपूर्ति हुन नसकेकाले त्यहाँ खानेकुरा, इन्धन र अन्य आधारभूत वस्तुको गम्भीर अभाव छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आर्थिक सहायता जुटाउने प्रयासका लागि छलफल अघि बढाउन पनि यो देशलाई एउटा स्थिर सरकारको आवश्यकता छ।

श्रीलङ्कामा प्रदर्शनकारी

श्रीलङ्कामा प्रदर्शनकारी : गत साता गोटाबय राजपक्ष देश छोडेर भाग्नुभएको थियो ।

संसद्‌को अङ्कगणित
गोटाबय राजपक्षको सरकार र दुई दशकसम्म देशको नेतृत्व लिएको राजपक्ष परिवारलाई देशको वर्तमान आर्थिक सङ्कटका लागि दोषी मानिएको छ।

विक्रमसिङ्घसहित श्रीलङ्काको राजनीतिक नेतृत्वको राजीनामा माग गरिरहेका प्रदर्शनकारीहरूको भिड सरकारी भवनहरूमा प्रवेश गरेर कब्जा गर्न थालेपछि गत साता गोटाबय माल्दिभ्स भाग्नुभएको थियो।

त्यहाँबाट सिङ्गापुर पुगेका राजपक्षले बिहीवार आफ्नो राजीनामा पठाउनुभएको थियो।

राष्ट्रपति चयनको निर्वाचनमा २ सय २५ सांसदले मतदान दिन पाउँछन्। आधाभन्दा बढी सांसदको मत पाउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ।

अङ्कगणित
त्रिपक्षीय प्रतिस्पर्धामा को बलियो
राष्ट्रपतीय निर्वाचनमा विक्रमसिङ्घ, अलाहपेरुम र वामपन्थी न्याश्नल पिील्स पावर पार्टीका नेता अनुरा कुमार दिशानायकबीच त्रिपक्षीय प्रतिस्पर्धा हुन लागेको छ।

राजपक्षहरूले नेतृत्व गरेको पोदुजन पेरुमुन पार्टी गत निर्वाचनमा विजयी भएको थियो।

गोटाबय राजपक्षको सरकारबाट राजीनामा दिएका अलाहपेरुम श्रीलङ्काको सत्तारूढ दलका वरिष्ठ सांसद पनि हुनुहुन्छ।

डल्लस अलाहपेरुम

डल्लस अलाहपेरुम

एप्रिल महिनामा प्रदर्शन सुरु भएपछि सामूहिक राजीनामा दिने मन्त्रीहरूमध्ये अलाहपेरुम पनि हुनुहुन्थ्यो।

यसअघि विपक्षी दलका नेता सजित प्रेमदास राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने ठानिएको थियो।

तर अन्तिम समयमा उहाँले देशको बृहत्तर भलाइका लागि भन्दै प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गर्नुभयो।

संसद्‌मा एकचौथाइ सांसदहरू रहेको उहाँको दलले अलाहपेरुमलाई समर्थन गर्ने उहाँले बताउनुभएको छ।

रनिल विक्रमसिङ्घ
अन्तरिम नेता रनिल विक्रमसिङ्घ निकै अलोकप्रिय मानिनुहुन्छ

प्रधानमन्त्रीमा विपक्षी नेताको सम्भावना

यस्तो अवस्थामा प्रेमदासले प्रधानमन्त्रीको जिम्मेवारी पाउन सक्ने विवरणहरू आएका छन्।

यसअघि छ पटकसम्म प्रधानमन्त्री भइसके पनि कुनै पटक पूरा अवधि काम नगरेका विक्रमसिङ्घ राष्ट्रपतिका लागि अघि सरेका सबैभन्दा विवादित उम्मेदवार हुनुहुन्छ।

श्रीलङ्कामा अभाव छ

श्रीलङ्कामा अभाव छ

कतिपय प्रदर्शनकारीहरूले उहाँ राष्ट्रपति बन्ने सम्भावना बाँकी नै रहेको भन्दै प्रदर्शन जारी राख्ने बताएका छन्।

धेरैले उहाँको राजपक्ष परिवारसँग राम्रो सम्बन्ध रहेको दाबी गरेका छन्।

“उहाँ सत्तामा आउँदा राजपक्षहरूसहित सबैलाई जिम्मेवार बनाउने वाचा गर्नुभएको थियो। तर उहाँले केही पनि गर्नुभएन”,विश्वविद्यालयकी विद्यार्थी अञ्जली वन्दुरगलले भन्नुभयो, “मानिसहरूले फेरि पनि उहाँलाई विश्वास गर्छन् भनेर सोच्नु पनि हास्यास्पद हो।”

श्रीलङ्काबारे जान्नुपर्ने केही कुरा

टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २।२ करोड छ। तीनवटा जातीय समुदाय ( सिन्हाला, तमिल र मुस्लिम ( ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन् ।
राष्ट्रपतिको शक्तिः श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्‌मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ ।

शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरेको थियो। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक हुनुभयो। त्यतिबेला रक्षामन्त्री रहनुभएका उहाँका भाइ गोटाबय राजपक्षले देश छोडेर भागेपछि राजीनामा दिनुभएको छ ।

आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन नसकेकाले महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन् ।

Share Now

Leave a comment.