वरियारपट्टि(सिरहा), ६ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती गर्ने, कमिसनखोर र भ्रष्टाचारीलाई कारवाही गर्ने बताएका छन् ।
पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नति कार्यको मंगलवार सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उनले कमिसनखोरी र भ्रष्टाचारका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले त्यस्तो कार्यमा संलग्नलाई माफी नदिने उल्लेख गरे ।
“सुशासनबिना विकासको कल्पना गर्न सकिदैन्, सुशासन कायम गर्न भ्रष्टमाथि कडा कारबाही गर्नैपर्छ’, अध्यक्ष प्रचण्डले भने ‘त्यसका लागि सरकारले कडा कदम चाल्नेछ .”
उनले राजनीतिक क्रान्ति पूरा भएको बताउदै विकासको नयाँ क्रान्ति गर्दै ५ देखि १० वर्षभित्रमा नेपाललाई विश्वकै समृद्ध मुलुक बनाउने दावी गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालकै इतिहासमा पहिलो पटक बलियो हात दिएर जनताले सिंहदरबार पठाएको उल्लेख गर्दै भने,” त्यसैले अब हामी फटहा, कमिसनखोर र बेथिति बनाउनेलाई जेल हाल्न पछि पर्दैनौ ।”
चुनाबका बेला वामगठबन्धले साझा घोषणापत्रमार्फत ल्याएको सुशासन, स्थायीत्व, विकास र समृद्धिको कुरामा जनताले विश्वास र भरोसा गरेर वामगठबन्धनलाई झन्डै दुई तिहाईको बहुमत दिएकोले वर्तमान सरकारले जनताको आकांक्षा पूरा गर्नेपर्ने उल्लेख गरे ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले सिँंचाइ र सडक पूर्वाधारको विकास नभएसम्म मधेशमा हरित क्रान्ति हुन नसक्ने बताउदै यसका लागि सरकारले ठोस काम गर्ने बताए ।
उनले मधेसकै लाइफ लाइनका रुपमा रहेका हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफू प्रधानमन्त्री भएकै बेलामा अघि बढाएको उल्लेख गर्दै अब कुनै बाहनामा राजमार्गको काम नरोकिने दावी गरे ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले मधेश केन्द्रित दलरुसँग निरन्तर छलफल गरी संविधान संशोधनको नजिक पुगेको बताउँदै छिट्टै संविधान संशोधनभएपछि मधेशी जनताको गुनासोको संबोधन हुने बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल र त्यसका नेतृत्वले एकै ठाउँमा उभिनुपर्ने बताए ।
“राजनीतिक दलको खिचातानीका कारण विकासको बजेट फिर्ता जाने र विकास निर्माण ठप्प हुने प्रवृति देखिएको छ, त्यसलाई सबै दलका नेताले त्याग्नु जरुरी छ,” मन्त्री महासेठले भने ।
सरकारले पाँच वर्षभित्र देश र मधेशको स्वरुप परिवर्तन हुने गरी काम अघि बढाउन लागेकोले यसमा सबै दलको सकारात्मक सहयोग आवश्यक भएको पनि उनले बताए ।
मन्त्री महासेठले समयमा काम पुरा नगर्ने ठेक्केदारलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणमा हुने ढिलासुस्ती र कमिसनखोरी रोक्न दण्ड र पुरस्कारको व्यस्था गर्न लागेकोसमेत बताए ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासन र विकासको मुख्यबाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकार कडारुपमा प्रस्तुत हुने बताए ।
“भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन्”, उनले भने“जनताबाट आएको एक/एक पैसाको हिसाब हामी जनतालाई दिन्छौं, भ्रष्टाचार हुन दिन्न ।”
कार्यक्रमा नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साह, प्रभु साह, नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद लिलानाथ श्रेष्ठलगायतले हुलाकी सडक निर्माण समयमै सम्पन्न भए मधेशमा आर्थिक समृृद्धिको बाटो खुल्ने बताएका थिए ।
आगामी ३० महिनाभित्र सम्पन्न हुने गरी शुरु भएको हुलाकी मार्गको स्तरोन्नतिको कामको अध्यक्ष प्रचण्डसहित यातायातमन्त्री महासेठ, प्रदेश नं। २ का मुख्यमन्त्री राउत र नेकपा माओवादी केन्द्रका नेता तथा सांसद सुरेशचन्द्र दास यादवले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।