काठमाडौँ, १० असोज । नेपालीको महान् चाड बडादशैँ आजदेखि सुरु भएको छ ।
बडा दशैको पहिलो दिन असोज शुक्ल प्रतिपदामा घरघरमा जमरा राखी घटस्थापना गरिँदै छ ।
आज पूजाकोठा वा दशैँघरमा रातोमाटोले लिपेर चोखो र शुद्ध पारिन्छ । दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवा वा माटोमा जौ, मकै छरेर जमरा राखिन्छ ।
आजैदेखि नवरात्री पनि सुरु हुन्छ । नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ परायण गरी दुर्गा भवानीको आराधना गर्ने गरिन्छ ।
नवरथामा शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको उपासना गरिन्छ ।
उपत्यकाका भद्रकाली, गुह्येश्वरी, नरदेवी, मैतीदेवी, नक्साल भगवतीलगायतका शक्तिपीठमा देवीको उपासना गरिन्छ ।
त्यस्तै ताप्लेजुड.को पाथिभरा, धरानको दन्तकाली, राजविराजको कंकालिनी र छिन्नमस्ता, हेटौँडाको भुटनदेवी, काभ्रेको उग्रचण्डी र पलाञ्चोक भगवती, ललितपुरको पूर्णचण्डी, गोरखाको मनकामना र गोर्खा कालिका, लमजुड.कालिका, गैडाककोटको मौला कालिका, बाँकेको वागेश्वरी, पोखराको विन्ध्यवासिनी, डडेल्धुराको उग्रतारा, डोटीको शैलश्वरी, बाग्लुड.कालिका, लगायतका शक्ति पीठमा देवीको उपासना गरिन्छ ।


















