साना गाउँ(गोर्खा), ११ असोज । मनास्लु क्षेत्रमा सोमवार १२ बज्न लाग्दा गएको हिमपहिरोका कारण घाइते भएका सबै आरोहीको खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।
मनास्लु हिमालमा गएको हिमपहिरोमा करिब १५ जना परेको र तीमध्ये पाँचजना गम्भीर घाइते भएको साना गाउँ एअरपोर्टमा रहेकी विभागकी सम्पर्क अधिकृत यशोदा अर्यालले भन्नुभयो।
“आधारशिविरमा रहेका एजेन्सीका मानिसहरूसँग कुरा गर्दा एकजनाको ज्यान गएको र चारजनाको अवस्था गम्भीर रहेको भन्ने जानकारी आएको छ”, उहाँले भन्नुभयो,”जो कम घाइते छन् उनीहरूले नै बढी गम्भीरको उद्धार गरेको भन्ने जानकारी हामीले पाएका छौँ। तल आधार शिविरमा रहेकाहरू पनि उद्धारका लागि जानु भएको छ।”

उनका अनुसार उद्धार गर्न हेलिकोप्टर उक्त क्षेत्रमा गए पनि खराब मौसमका कारण फर्किएको थियो।
उद्धारका लागि हेलि एभरेष्ट, कैलाश र सिम्रिकका तीनवटा हेलिकोप्टर त्यहाँ रहेको पर्यटन विभागस्थित पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले बताउनुभयो।
“घाइते साथीहरूमध्ये दुई जनालाई उद्धार गरिएको छ। एकैछिन मौसमले साथ दिएका बेला एकजनालाई सानागाउँ र एकजनालाई काठमाडौं ल्याउने काम भयो। फेरि मौसम खराब भएपछि बाँकी भने त्यहीँ हुनुहुन्छ”, उहाँले भन्नुभयो।
घाइते पाँचैजना नेपाली रहेको उहाँले बताउनुभयो। हिमपहिरो गएको क्षेत्रबाट एकजना विदेशी हराइरहेको भन्ने जानकारी आफूलाई आएको पनि उहाँले बताउनुभयो।
आरोहणको अनुमति
हिमपहिरो कत्रो स्तरको भन्ने यकिन भइसकेको छैन। हिमपहिरो गएकै क्षेत्रमा ३० देखि करिब ३५ आरोहीहरू रहेको विभागले जनाएको छ।
“हामीसँग ५०६ जनाले आरोहण अनुमति लिनुभएको छ। त्यसमध्ये करिब ३५० जना आरोहणकै लागि जानुभएको छ।”
घाइते हुनेमा नेपाली र विदेशी दुवै रहे पनि सङ्ख्या भने यकिन हुन नसकेको विभागले जनाएको छ।
क्याम्प ३ मा रहेका करिब ४० जना विदेशीहरू सुरक्षित रहेको बताइएको छ।
Avalanche on #manaslu.
To all our families and friends , who have joined us on @eliteexped #manaslu trip , I’m confirming our all clients and guides are safe .#14peaksnothingisimpossible #14peaks #nothingisimpossible #nimsdai #nimspurja #14peaks6months #beyondpossible pic.twitter.com/ziG1bdc8LX
— Nirmal Purja MBE (@nimsdai) September 26, 2022
चर्चित आरोही निर्मल पुर्जाले सामाजिक सञ्जाल ट्वीटरमा मनास्लुको आरोहण दलका आफ्ना सबै सदस्य र पथप्रदर्शक सकुशल रहेको बताउनुभएको छ ।


















