धनगढी(कैलाली), २३ कार्तिक। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला जिल्लालाई तुईनमुक्त बनाउने र सुदूरपश्चिमको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजना बनाएरै छाड्ने बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनका तर्फबाट दार्चुला र बैतडीमा आयोजित संयुक्त चुनावी सभालाई संबोधन गर्दै सो कुरा बताउनुभएको हो ।
दार्चुलामा आयोजित सभालाई संबोधन गर्दै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताउनुभयो ।
बुधबार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाउनुभयो ।
“कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।”
दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभा। pic.twitter.com/I2m4acPTyd
— Sher Bahadur Deuba (@SherBDeuba) November 9, 2022
उहाँले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाउनुभयो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उहाँको भनाइ थियो । “अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो “मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ ।”
उहाँले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताए । गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याइने भन्दै देउवाले दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने आश्वासन दिनुभयो ।
“दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ”, उहाँले भन्नुभयो, “दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ।”
पञ्चेश्वर र पश्चिम सेती बनाउने
प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रकृया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरू भइसकेको बताउनुभएको छ ।
बैतडीको पाटनमा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उहाँले सेती र महाकाली नदीमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
बैतडीको पाटनमा आयोजित चुनावी सभा। pic.twitter.com/sguEHxKoTi
— Sher Bahadur Deuba (@SherBDeuba) November 9, 2022
उहाँले पञ्चेश्वर बहुउदेश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउदेश्यीय परियोजनाको काम आगामी सरकारले सुरू गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले विकास निर्माणका लागि आगामी ४ मंसिरमा हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवाहरूलाई विजयी गराउन पनि आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले आगामी सरकार पनि वाम लोकतान्त्रिक गठबन्धनको बने सुुदुरपश्चिमको विकासलाई प्राथमिकता दिने बताउनुभयो।
उहाँले बैतडीमा रहेको कृषि विज्ञान कलेज र भीमदत्त पोलिटेक्निकल कलेजको स्तरोन्तीका लागि पहल गर्ने बताउनुभयो । यसका साथै दोगडा केदार गाउँपालिकामा रहेको फस्फोराइड खानी उत्खनन्, नेपाल–भारत सीमा नदी झुुलाघाटमा पक्की पुल तथा पाटन नमुना सहर निर्माणका लागि पहल गर्ने बताउनुभयो ।
यही मञ्चमा चुनावी आमसभा सम्बोधन गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यिनै आयोजना निर्माण गर्ने पार्टीको योजना रहेको बताउनुभएको थियो ।


















