काठमाडौँ, २२ मङ्सिर । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ ।
“किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ”, किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राई भन्नुहुन्छ, “यस चाडमा किराँती एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।”
किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा÷पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
“धर्ती तातो हुँदै जाँदा चराचुरुङ्गी लेकतिरको शीतलतर्फ जान्छन्, त्यो समयको चाड उभौली भनियो । यो समयमा चिसो बढ्दै जाँदा लेकका चराचुरुङ्गी तराईतिर झर्छन्, यसलाई उधौली भनिएको हो”, किराँती राई यायोख्खाका अध्यक्ष राईले बताउनुभयो ।
यता, संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली चाड मनाउने तरिका फरक छ । उहाँ भन्नुहुन्छ, “उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । अब उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौली झैँ ढोल झ्याम्टा बजाउँदै नाचगानसमेत गरिन्छ ।”
प्रधानमन्त्री देउवाको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
उधौली पर्वका अवसरमा शुभकामना दिँदै उहाँले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
किराँत समुदायमा जाडो मौसम सुरु भएछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ । यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ । उधौली पर्वका अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ ।
प्रधानमन्त्री देउवाले विभिन्न जातजाति र समुदायको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम भूमिका निभाएको उल्लेख गर्नुभएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न यस पर्वले सहयोग गरेको बताउनुभएको छ ।


















