Prakash Adhikari December 14, 2022

काठमाडौं, २८ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत दलहरुले समानुपातिकतर्फ निर्वाचित गर्न पठाएको सूचीमा समाविष्ट उम्मेद्वारहरुलाई आज सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ।

आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज दिउँसो साढे १ बजे राष्ट्रिय दलहरुबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चयनका लागि सिफारिस भएकाहरुलाई निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम छ।

राष्ट्रिय दलहरुले समानुपातिक र समावेशी सिद्धान्त अनुरुप समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभातर्फ १ सय १० र प्रदेशसभातर्फ २ सय २० जना सदस्य चयन गरेर पठाएका छन्।

समानुपातिकमा ‘थ्रेसहोल्ड’ (कूल सदर मतको ३ प्रतिशत) कटाएर राष्ट्रिय दलसमेत बनेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले आफूले प्राप्त गरेको समानुपातिक सिट संख्याअनुसार बन्दसूचीबाट समावेशिता (क्लस्टर) मिलाएर आयोगमा नामावली पेस गरेका थिए।

समावेशिता बमोजिम सूची नपठाएका दलहरूलाई आयोगले सच्याउन समय दिएको थियो। सोअनुसार सूची सच्याउनुपर्ने दलहरूले सच्याएपछि आयोगले आज समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्न लागेको हो।

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले भने संबन्धित निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भईसकेको प्रमाणपत्र लिइसकेका छन् ।

Share Now

Leave a comment.