Prakash Adhikari December 15, 2022

 

बीरेन्द्रनगर (सुर्खेत), २९ मंसिर । बेलायत सरकारको सहयोगमा निर्मित मुगुको सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको ६७ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।

सडक १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँमा निर्माण भएको हो।

सडक हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गर्नुभयो।

‘हुम्लाबाट यही बाटो भएर महिना दिन लगाएर नेपालगन्ज पुग्थ्यौं, मान्छे हिँड्न धौधौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौं’, मुख्यमन्त्री शाहीले भने, ‘विकासको पहिलो आधार नै सडक हो, सडक भएपछि अरू आवश्यकता पनि पूरा हुँदै जान्छन्।’

बेलायती राजदूत निकोला पोलिटले गमगढी–देउली सडकले हुम्लालाई औपचारिक रूपमा सडक सञ्जालसँग जोडेको बताउनुभयो।

‘बेलायत सरकारको प्रमुख ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत ४.५ मिटर चौडा मोटरेबल लिंक रोडले खुट्टाले हिँड्ने बाटोलाई प्रतिस्थापन गरेको छ’, राजदूत पोलिटले भन्नुभयो, ‘यो बेलायतले नेपालमा निर्माण गर्न मद्दत गरेको सबैभन्दा लामो ग्रामीण सडक हो।’

यो सडकले चंखेली हिमालको ३ हजार ३ सय मिटरको अग्लो डाँडा पार गरेको छ। ६७ किलोमिटर सडकमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ। यो सडकमा चारवटा पुल छन्।

राजदूत पोलिटले सडक बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरण भएको बताउनुभयो।

‘यो परियोजनाको सफल समापनले स्थानीय जनता, सरकारका विभिन्न निकायहरू एक ठाउँमा हुँदा ठूलो परिवर्तन सम्भव छ भन्ने देखाउँछ’, उहाँले भन्नुभयो।

राजदूत पोलिटले सडक बनेसँगै खाद्यान्नमा ४३ प्रतिशत मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको बताउनुभयो।

अक्टोबर २०१८ मा सुरु भएको सडक निर्माणका क्रममा ४ हजार ४ सय जनाभन्दा बढी स्थानीय श्रमिकलाई रोजगारी दिइएको र श्रमशक्तिको ३५ प्रतिशतभन्दा बढी महिला सहभागी भएका थिए।

सडकमा काम गर्ने प्रत्येक श्रमिकले ८ लाख रुपैयाभन्दा बढी आम्दानी गरेका छन्

Share Now

Leave a comment.